असोज १३ गते फूलपातीमा ल्याउने फिल्म ‘अभिमन्युः च्याप्टर वान’ पुनः स्थगित भई नयाँ मितिमा रिलिज हुने भएको छ। सुरुमा भदौ २७ गते प्रदर्शनको तयारी भए पनि जेनजी आन्दोलनका कारण फिल्मको रिलिज स्थगित गरिएको थियो। असोज १३ गते फूलपातीमा धेरै फिल्म रिलिज हुने भएकाले अन्ततः असोज २४ गतेलाई आधिकारिक मिति तय गरिएको हो।
निर्माता कम्पनी सेभेन सिज सिनेमाले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा पर्याप्त शो सुनिश्चित गर्न र अन्य नेपाली फिल्मलाई असर नपरोस् भन्ने उद्देश्यले नयाँ मिति तोकिएको उल्लेख छ।
यसैदिनदेखि फिल्मको हिन्दी भर्सन पनि विश्वव्यापी रूपमा प्रदर्शन हुने जनाएको छ। हिन्दी डबमा चर्चित भारतीय भ्वाइस आर्टिस्ट सचिन गोलेले मुख्य पात्र कामेश्वर चौरासियाको आवाज दिएका छन्। उनले भिडियो सन्देशमार्फत फिल्मको गुणस्तरको प्रशंसा गरेका छन्।
सुशान्त गौतमको निर्देशनमा बनेको यस फिल्ममा कामेश्वर चौरासियासँगै लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, किरण श्रेष्ठ लगायत कलाकारहरूको अभिनय छ। शरद महतोले छायांकन गरेका छन् भने फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। विनोद र रमेश यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण गरेर प्रशंसा पाइसकेका थिए।