बडादशैंको सुरुआती दिनमै फिल्म जेरी अन टपले आफ्ना दर्शकलाई विशेष उपहार दिएको छ । असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको यो बहुप्रतिक्षित चलचित्रले ‘कस्तुरी’ शीर्षकको पहिलो गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।
रोमान्टिक धुनमा सजिएको गीतमा अनमोल केसी र आँचल शर्माको जोडीलाई मुस्ताङदेखि भारतको राजस्थानसम्मका रमणीय लोकेशनमा प्रस्तुत गरिएको छ । कोरियोग्राफर किरण थापाले उनीहरूलाई ‘लभ बर्ड्स’को रूपमा पर्दामा उतारेका छन् । भिडियोमा देखिएको उनीहरूको रसायनले दर्शकलाई लोभ्याउने विश्वास निर्माण टिमको छ ।
गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहँदा, संगीतकार तथा गीतकार जयन जे वाइबाले कम्पोज गरेका छन् । मिक्सिङ–मास्टरिङ अशोक थानेतले गरेका हुन् भने वाइबाकै साउण्ड डिजाइन छ ।
सुयोग गुरुङको निर्देशनमा बनेको जेरी अन टपमा अनमोल–आँचलसँगै जसीता गुरुङ, हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गीको अभिनय छ भने सुरक्षा पन्त विशेष भूमिकामा देखिनेछिन् ।
फिल्मको प्रस्तुति सरोज न्यौपानेको हो । निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी सहनिर्माता रहेका छन् । कार्यकारी निर्माता अनुराधा गिरी र इश्वर श्रेष्ठ हुन् भने नविन घिमिरे, विवेक थापा र भविष्य खड्का एसोसिएट निर्माता छन् ।
कथा हेमराज बिसीले लेखेका छन् भने पटकथा विश्वास तिम्सिनाले तयार पारेका हुन् । दुलिप रेग्मीले खिचेको दृश्यलाई भव्य बनाउने प्रयास गरिएको छ । यसमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठका कम्पोजिसन पनि समावेश छन् ।
रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा विकसित हुने एक प्रेमकथामा आधारित छ, जसलाई फरक शैलीमा प्रस्तुत गरिएको बताइन्छ ।