फूलपाती (१३ असोज)बाट देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘माइतीघर’ ले बक्स अफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको छ । प्रदर्शनको पहिलो दिनदेखि नै देशभरका हलमा ५० प्रतिशतभन्दा बढी अकुपेन्सी कायम राख्न सफल भएको यो फिल्मले दर्शकको मन जितिरहेको छ ।

दर्शकहरूले फिल्मको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा गरिरहेका छन् । निर्देशक मिलन तामाङले तामाङ संस्कृतिलाई मूल विषय बनाउँदै माइतीघर र चेलीबीचको भावनात्मक सम्बन्धलाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरेका छन् ।

फिल्म प्रदर्शन अघि निर्माण पक्षले शीर्ष गीत  ‘वसन्त नै बस्न खोज्छ’ मा भिडियो प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा एक हजारभन्दा बढी सहभागी बनेका थिए । निर्णायक कोरियोग्राफर कविराज गहतराजले सोमबार परिणाम घोषणा गर्दै बुटवलका सुरज सिंजाली मगर र श्री (नाश्री) डान्स एकेडेमीका बालिकाहरूलाई संयुक्त विजेता घोषित गरेका छन् ।

पहिले घोषणा अनुसार पाँच लाख रुपैयाँको पुरस्कार एक समूहलाई दिने भनिए पनि, निर्माता रोहित अधिकारीले प्रतिस्पर्धा अत्यन्त कडा भएको भन्दै दुवै विजेता समूहलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेका छन् ।

फिल्ममा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङ्देललगायत कलाकारको सशक्त अभिनय देख्न सकिन्छ ।

‘माइतीघर’ले सांस्कृतिक गहिराइ, भावनात्मक कथा र उत्कृष्ट अभिनयको संगमका कारण दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

 

तपाईको प्रतिक्रिया