आउँदो भाइटीकाको दिन (कात्तिक ६) रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ समाजमा रहेको प्रतिष्ठा, इज्जत र वरिष्ठताको प्रतिस्पर्धा घोलेर बनेको कथा हो । कलाकारहरूको भनाइमा, यो चलचित्र एउटा व्यक्तिले आफ्नो इज्जत जोगाइराख्न खोज्ने र अर्कोले त्यसै इज्जत खोस्ने प्रयासमा लाग्दा उत्पन्न हुने संघर्षमा केन्द्रित छ ।

मुख्य अभिनेता दयाहाङ राईका अनुसार ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको मानसिक र सामाजिक द्वन्द्व हो । उनले भने, “समाजमा जसले प्रतिष्ठा बनाएको हुन्छ, ऊ त्यो गुमाउन चाहँदैन । जब कसैले त्यो प्रतिष्ठा खोस्न खोज्छ, त्यतिबेला सुरु हुन्छ वास्तविक संघर्ष — यही संघर्ष हाम्रो चलचित्रको मूल कथा हो ।”

दयाहाङले यसपटक फरक गेटअपमा आफू देखिने बताएका छन् । उनका अनुसार, यो पात्र उनका लोकप्रिय ‘काजी’ र ‘गोफ्ले’ जस्ता चरित्रभन्दा भिन्न छ ।“कहिलेकाहीँ सामान्य देखिने पात्र पनि धेरै चर्चित हुन्छ,” उनी भन्छन्, “त्यसैले यस क्यारेक्टरको पनि सम्भावना छैन भन्न सकिन्न ।”

त्यस्तै, कलाकार विजय बरालले यो फिल्मलाई “सामान्य व्यक्तिबाट वरिष्ठ बन्ने चाहनाले उत्पन्न द्वन्द्व” को कथा भनेका छन् । उनले फिल्ममा आफ्नो पात्रलाई ‘बले’ भनिएको बताए ।“फिल्ममा ‘वरिष्ठ बलराम’ को नाम कसको हो भन्ने ट्रेलरले केही संकेत गर्छ,” विजयले हाँस्दै भने, “तर मलाई ‘बले’ भनिएको छ ।”

मुख्य नायिका समृद्धि अर्यालले आफ्नो ‘कुशुम’ पात्र दुई लिड पात्रबीच प्रभाव पार्ने भूमिकामा रहेको बताइन् ।“म जहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल उपस्थिति हुन्छ,” उनले भनिन्, “यो भूमिकाले मेरो करिअरमा नयाँ उचाइ दिने विश्वास छ ।”

चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र पीके चौधरीको अभिनय छ । सुरेन्द्र पौडेलको निर्देशनमा तयार ‘वरिष्ठ बलराम’ को कथा र सम्पादन पनि पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्म्सको सहकार्यमा बनेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् त्यस्तै चलचित्रको छायांकन मनकृष्ण महर्जनले गरेका छन् ।

तपाईको प्रतिक्रिया