चौथो संस्करणको विराटनगर म्युजिक फेस्टिभल का लागि तयारी तीव्र गतिमा भइरहेको आयोजकले बताएका छन्। लाइभ इन्टरटेन्मेन्टको आयोजनामा दीपावली (तिहार)को शुभ अवसर पारेर यही असोज ३१ गते शुक्रबार विराटनगरको जैन भवनमा उक्त कार्यक्रम आयोजना हुने भएको हो।
बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन । संयोजक तथा व्यवस्थापक सन्तोष महत (स्यान्ट्रो) का अनुसार यस वर्षको फेस्टिभल विगतका संस्करणहरूभन्दा अझ भव्य र परिष्कृत हुने अपेक्षा गरिएको छ।
उनका अनुसार फेस्टिभलमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको दमदार प्रस्तुति रहनेछ। युवा पुस्तामाझ लोकप्रिय गायक तथा ब्यान्ड स्वर र पूर्ण राई एण्ड दाजुभाइहरू कार्यक्रमका मुख्य आकर्षण हुनेछन्।
यस वर्षको फेस्टिभलको अर्को विशेषता भनेको विराटनगरकै गौरव द स्मृति ब्यान्ड को विशेष प्रस्तुति हो। आफ्नो सांगीतिक यात्राको २५औं वार्षिकोत्सव मनाइरहेको अवसरमा ब्यान्डले विशेष प्रस्तुति दिनेछ र विराटनगरको संगीत क्षेत्रमा योगदानको कदरस्वरूप ब्यान्डलाई सम्मान गरिने संयोजक महतले जानकारी दिए।
फेस्टिभलमा सुभम एण्ड द ब्यान्ड ले पनि आफ्ना गीतहरू प्रस्तुत गर्नेछन्। साथै, विराटनगरका स्थानीय डान्स क्लबहरूले आफ्ना नृत्य प्रस्तुति गर्ने तयारी गरेका छन्, जसले स्थानीय प्रतिभालाई प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ।
संयोजक महतका अनुसार, “विराटनगरमा हरेक वर्ष हुने म्युजिक फेस्टिभल फरक अनुभव दिलाउने खालको हुन्छ। यस पटक हामीले अन्तर्राष्ट्रिय स्तरको साउण्ड सिस्टमको व्यवस्था गरेका छौं, जसले कलाकारहरूलाई अझ सहज र प्रभावकारी प्रस्तुति दिन मद्दत गर्नेछ।”
जैन भवनमा आयोजना हुने यस भव्य सांगीतिक कार्यक्रममा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। संगीत, संस्कृति र मनोरञ्जनको यो संगमले विराटनगरको दीपावलीलाई थप उल्लासमय बनाउने आयोजकको विश्वास छ।