आगामी कात्तिक ६ गते भाइटीकाको दिन प्रदर्शनमा आउने बहुप्रतिक्षित चलचित्र **‘वरिष्ठ बलराम’**को ट्रेलर बिहीबार राजधानीमा आयोजित विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । सुरेन्द्र पौडेल निर्देशित यस चलचित्रको ट्रेलरले दुई फरक स्वभाव र जीवनपथका पात्रबीचको टकरावको झलक देखाउँछ ।
ट्रेलरमा अभिनेता दयाहाङ राई र विजय बरालबीचको इज्जत र अस्तित्वको लडाइँलाई प्रभावकारी रूपमा चित्रण गरिएको छ । आफू गरिब भएकै कारण समाजले हेपेको महसुस गर्ने विजय र आफ्नो श्रममा कोही हस्तक्षेप नहोस् भन्ने दृढ स्वभावका दयाहाङबीचको तीव्र द्वन्द्वले कथा रोमाञ्चक बनेको देखिन्छ ।
दयाहाङ अगाडि–पछाडि केटाहरूको समूहका साथमा रवाफका साथ हिँडिरहेको दृश्यले उनको प्रभावशाली पात्रता झल्काउँछ भने विजयको पात्रले प्रेम, संघर्ष र आत्मसम्मानबीचको द्वन्द्व भोगिरहेको देखिन्छ । ट्रेलरमा अभिनेत्री समृद्धि अर्यालले प्रेमको मिठो स्पर्श भर्ने प्रयास गरेकी छन् ।
चलचित्रमा दयाहाङ, विजय र समृद्धिसँगै पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय रहेको छ ।
सुरेन्द्र पौडेलले निर्देशनसँगै कथा र सम्पादनको जिम्मेवारी समेत सम्हालेका छन् भने महेश दवाडीले पटकथा लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रका निर्माता आशिष एच. तामाङ र श्रीराज कार्की हुन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी. घिमिरे, र लाइन प्रोडुसरमा राम विष्ट रहेका छन् ।
चलचित्रमा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको छ ।
‘वरिष्ठ बलराम’लाई डीसीएनले उपत्यकामा र कुवेर सिने डिस्ट्रिब्युसनले उपत्यका बाहिर वितरण गर्नेछ ।