स्व: अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित र कालजयी फिल्म ‘कहाँ भेटिएला’ शीर्षकमा फेरि एउटा नयाँ फिल्म बन्ने भएको छ । करिब १६ वर्षअघि स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको यस फिल्मलाई अहिलेका चर्चित निर्देशक मिलन तामाङले नयाँ रूपमा पुनर्जीवन दिने भएका छन ।
मंगलबार सार्वजनिक गरिएको थिम पोस्टरमार्फत फिल्मको घोषणा गरिएको छ भने पोस्टरमा एक युवती पर्खाइमा रहेको दृश्य देखाइएको छ, जसले फिल्म प्रेम र प्रतीक्षाको कथामा आधारित हुने सङ्केत गर्छ ।
निर्देशक तामाङले यो परियोजना आफ्नो पछिल्लो हिट फिल्म ‘माइतीघर’ भन्दा अझ उत्कृष्ट र भावनात्मक बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् र उनका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेदेखि सुरु भई जेठको अन्त्यसम्म पूरा गर्ने योजना बनेको छ ।
हालसम्म कलाकारहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छैन तर, चलचित्र विकास बोर्डमा दर्ता गराउँदा केदार घिमिरे, धीरज मगर, बुद्धि तामाङ र श्यामाश्री शेर्पाका नाम उल्लेख भएका थिए भने यी सबैसँग निर्देशक मिलनले अहिलेको चर्चित चलचित्र ‘माइतीघर’मा पनि काम गरिसकेका छन ।