शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ ले बक्स अफिसमा शानदार ओपनिङ गर्दै उत्साहजनक व्यावसायिक गति लिएको छ। रिलिज भएको दिन अर्थात् शुक्रबार फिल्मले ७२ लाख ५९ हजार ४ सय ८ रुपैयाँ कमाउँदै दमदार शुरुवात गरेको छ भने यसै गरि शनिबार प्रदर्शन थप सशक्त बन्दै फिल्मले ८६ लाख ३८ हजार २ सय १० रुपैयाँ को व्यापार गर्न सफल भएको छ ।

फिल्मको तेस्रो दिन आइतबार मध्यान्ह १२ बजेसम्म मात्रै पनि २८ लाख रुपैयाँ कमाई भइसकेको छ। यो दरमा गएर, ‘जेरी अन टप’ आज नै २ करोड क्लबमा प्रवेश गर्ने निश्चित जस्तै बनेको छ। नेपाली फिल्म बजारमा पछिल्लो समय हलमा दर्शक तान्न कठिन भईरहेका बेला ‘जेरी अन टप’ ले भने दर्शकको उत्साह पुनः जगाएको छ।

फिल्म हेर्न हलहरूमा युवापुस्ताको उल्लेख्य भीड देखिएको छ भने  कतिपय मल्टिप्लेक्सहरूमा शो हाउसफुल भइरहेका छन् भने सामाजिक सञ्जालमा पनि फिल्मबारे सकारात्मक प्रतिक्रिया आइरहेका छन्। ‘जेरी अन टप’ लाई धेरैले फ्रेन्च टच, रमाइलो संवाद, मनोरञ्जन र अनमोल केसीको आकर्षक अभिनयको कारण हेर्न लायक ठानेका छन्।

फिल्ममा अनमोल केसीको करिश्माई उपस्थिति, सुपुष्पा भट्टको सशक्त अभिनय र हेमराज बीसीको रोमान्टिक–युवा कथा प्रस्तुत गर्ने दक्षताले दर्शकलाई तानिरहेको छ। निर्देशक बीसीले ‘जेरी’ ब्रान्डलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास यस फिल्ममा स्पष्ट देखिन्छ।

व्यावसायिक हिसाबले पनि फिल्मले सुखद संकेत दिएको छ भने  पहिलो साप्ताहिक बक्स अफिसमै २ करोडको नजिक पुगेको ‘जेरी अन टप’ अहिले देशभरका मल्टिप्लेक्स र सिङ्गल स्क्रिन दुबैमा धमाधम प्रदर्शन भइरहेका छन्। दर्शकको सकारात्मक प्रतिक्रिया यस्तै कायम रहेमा, यो फिल्मले सुपरहिट बन्ने सम्भावना अत्यन्त बलियो देखिएको छ।

तपाईको प्रतिक्रिया