दशैंपछि नेपाली फिल्म उद्योग फेरि उत्साहपूर्ण बन्दै गएको छ। हाल हलहरुमा करिब एक दर्जन भन्दा बढी फिल्म प्रदर्शनरत छन्। यस्तै माहोलमा भाइटीकाको शुभ अवसर पारेर बिहीबारदेखि दुई नयाँ नेपाली फिल्म ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ देशभरका हलमा प्रदर्शनमा आएका छन्।
फरक–फरक विषयवस्तुमा बनेका यी दुई फिल्मले दर्शकलाई नयाँ कथा र अनुभूति दिने अपेक्षा गरिएको छ। देशभर कुल १३६ शो प्राप्त भएकोमा ‘वरिष्ठ बलराम’ले ८२ शो र ‘सोल्टिनी’ले ५४ शो पाएका छन् भाइटिकाको साइत बिहान ११:३९ मा परेकाले अधिकांश हलले दिउँसो १२ बजेदेखि मात्रै शो सुरु गरेका छन्। तर, दुवै फिल्मको प्रारम्भिक टिकट बुकिङ सामान्य देखिएको छ। यसैले अब यी फिल्मले दर्शक तान्नका लागि ‘वर्ड अफ माउथ’ (दर्शक प्रतिक्रियाको प्रभाव) मा भर पर्नुपर्ने देखिन्छ।
सुरेन्द्र पौडेल निर्देशित ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, र प्रदीप कुमार चौधरी लगायत कलाकारको दमदार अभिनय देख्न सकिन्छ र निर्देशक पौडेलकै कथा र सम्पादनमा बनेको यस फिल्ममा महेश दवाडीले पटकथा र संवाद लेखेका छन् भने फिल्मले दुई पात्रबीचको अस्तित्व संघर्षलाई भावनात्मक र गहिरो रूपमा प्रस्तुत गरेको छ।
- त्यस्तै, अन्तरजातीय प्रेमकथामा आधारित ‘सोल्टिनी’ लाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् भने फिल्ममा प्रकाश सपूत, परीक्षा लिम्बू, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, र सुन्दर धितालको अभिनय रहेको छ भने रेजिना बिस्ट र संसार चौलागाईँ निर्माता रहेको यस फिल्मको कथा र पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्।