दशैं–तिहारको उत्सवपछि केही सुस्त देखिएको नेपाली बक्स अफिस फेरि चलायमान बनेको छ। ठूला पर्वमा मात्र नेपाली फिल्महरूले झन्डै २९ करोड रुपैयाँको व्यापार गरेपछि अहिले पनि नयाँ फिल्महरूले बजार तताइरहेका छन्। गत साताबाट प्रदर्शनमा आएको ‘परान’ सुपरहिटको दिशातर्फ अघि बढिरहेका बेला, यसै सातादेखि रिलिज भएका दुई फिल्म — ‘जारी २’ र ‘मन बिनाको धन’ — ले पनि दर्शकलाई हलसम्म तान्न सफल भएका छन्।
शुक्रबार रिलिज भएका यी दुई फिल्ममध्ये सर्वाधिक शो प्राप्त गरेको ‘जारी २’ ले पहिलो दिनमै देशव्यापी रूपमा ७० प्रतिशत अकुपेन्सी कायम गरेको थियो भने दोस्रो दिन शनिबार त दर्शकको उपस्थितिले झनै उत्साह थप्यो — फिल्मले देशभरका ६० प्रतिशतभन्दा बढी शोमा शतप्रतिशत अकुपेन्सी हासिल गरेको अनुमान गरेकोछ। शनिबार मात्र फिल्मले डेढ करोड रुपैयाँभन्दा माथिको व्यापार गरेको अनुमान गरिएको छ। उता, न्यून शोसहित प्रदर्शनमा आएको ‘मन बिनाको धन’ ले पनि सुखद ओपनिङ गरेको छ भने पहिलो दिन देशव्यापी अकुपेन्सी करिब ५० प्रतिशत रहँदा, शनिबार यो बढेर ७०–७५ प्रतिशत पुग्यो। देशका विभिन्न ठाउँ र सहरहरु बाट दर्शकहरू गाडी रिजर्भ गरेर हल सम्ममा पुगेका दृश्यहरूले फिल्मप्रतिको उत्साह झल्काएका छन्।
अब आइतबारदेखि यी दुवै फिल्मको ‘वर्ड अफ माउथ’ नै निर्णायक बन्ने देखिएको छ। कारण, प्रारम्भिक उत्साहपछि दर्शकको सकारात्मक प्रतिक्रिया नै फिल्मको दीर्घ व्यापारिक भविष्य तय गर्नेछ। तर, सामाजिक सञ्जालमा आएका प्रारम्भिक प्रतिक्रियाहरू भने अपेक्षाअनुसार उत्साहजनक देखिएका छैनन्।
‘जारी २’ लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा बनेको कथा हो, जसमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, अनिल सुब्बा र रेखा लिम्बूको सशक्त अभिनय देख्न सकिन्छ भने फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। त्यस्तै, टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ बालगायक अशोक दर्जीको जीवनकथामा आधारित छ, जहाँ उनी स्वयं मुख्य भूमिकामा देखिएका छन्।







































































