ढाका । बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तरालपछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष उडान पुनः सुरु गरेको जनाइएको छ ।
ढाकाबाट सुरुवाती उडान, बीजी-३४१ हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कराचीका लागि बिहीबार स्थानीय समयअनुसार बेलुका करिब ८ बजे १३८ यात्रु बोकेर भएको थियो । बङ्गलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सल्लाहकार शेख बशीर उद्दीन र बङ्गलादेशका लागि पाकिस्तानका उच्चायुक्त इमरान हैदरले संयुक्त रूपमा रिबन काटेर विमानस्थलमा आयोजित उदघाटन समारोह उदघाटन गरेका थिए ।
राष्ट्रिय ध्वजावाहक कम्पनीले ढाका-कराची उडान हरेक बिहीबार र शनिबार सञ्चालन हुने बताएको छ । प्रत्यक्ष उडान पुन : सुरु गर्नाले दुइ देश बिच यात्रा सजिलो हुने र दुई दक्षिण एसियाली देश बिचको व्यापारलाई सहज बनाउने अपेक्षा गरिएको छ । बङ्गलादेश र पाकिस्तानबिचको द्विपक्षीय सम्बन्ध सुधार हुँदै जाँदा प्रत्यक्ष उडान सम्भव भएको जनाइएको छ । रासस/सिन्ह्वा



































