विराटनगर, २३ माघ । पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध विद्यालय केन्द्रीत एचपिभी खोप अभियान विराटनगर महानगरपालिकामा माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिने भएको छ ।
विराटनगर महानगरपालिकाका १६४ वटा खोप केन्द्रमार्फत कक्षा ६ मा अध्ययनरत बालिका तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका करिब २ हजार ९ सय ७० किशोरीलाई खोप प्रदान गरिने महानगर स्वास्थ्य शाखा प्रमुख दिलिप यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्ष १० देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा छुटेका किशोरीलाई समेत यस पटक खोप दिइने छ ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले एचपिभी खोप अभियानलाई सफल बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताउनुभयो । खोपको महत्वबारे अभिभावक, विद्यालय तथा समुदायस्तरमा प्रभावकारी सूचना प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गत वर्ष सञ्चालन गरिएको एचपिभी खोप अभियानमा ९० प्रतिशत कभरेज हासिल भएको महानगरपालिकाले जनाएको छ ।










