नेपाली संगीत क्षेत्रमा पछिल्ला वर्षहरूमा आफ्नो फरक पहिचान बनाउँदै आएका गायक सरगम राई स्वरको मिठास, भावनात्मक प्रस्तुति र सरल व्यक्तित्वका कारण श्रोतामाझ लोकप्रिय छन्। परम्परागत स्वाद र आधुनिक संगीतको सन्तुलन मिलाउँदै अघि बढिरहेका सरगम राईसँग हामीले उनको संगीत यात्रा, संघर्ष, सोच र भविष्यका योजनाबारे सहकर्मी रन्जु कोइराला सगँ को संक्षिप्त कुराकानी ।
तपाईंको बाल्यकाल र संगीतसँगको पहिलो सम्बन्ध कस्तो थियो?
बाल्यकाल निकै सामान्य नै तरिकाले वित्यो । तर संगीत भने सधैँ वरिपरि घुमिरहन्थ्यो। घरमा रेडियो बजिरहन्थ्यो, पुराना नेपाली गीतहरू सुन्थें। त्यहीँबाट गुनगुनाउन थालेँ। सुरुमा यो नै भविष्य बन्छ भन्ने सोचेको थिइनँ, तर समयसँगै संगीत मेरो जीवनको अभिन्न हिस्सा बन्यो। जसको माध्यमबाट मैले संगीतको दुनियाँमा आफनो छुटटै पहिचान बनाउन सफल भए ।
गायक बन्ने निर्णय परिवारले कसरी लिनुभयो?
सुरुमा परिवार अलि चिन्तित हुनुहुन्थ्यो । संगीत क्षेत्रमा अनिश्चितता धेरै हुन्छ । तर मेरो लगाव, मेहनत र निरन्तर अभ्यास देखेपछि विस्तारै सबैले साथ दिनुभयो । प्रवासको बसाईमा आफनो उच्च शिक्षाको शिलशिला सगैं सांगितिक माहोल बढ्दै गयो । परिवारको सपना नै थियो उच्च शिक्षा पछि नेपाली सुगम र लोक गीत संगीतमा आफनो सन्तानले योगदान गर्न सकोस र प्रवासमा भएपनी मौलिक भाषा र सस्कृतिमा छोराले योगदान र समपर्ण पुयाउन सकोस भन्ने मेरो बुवा आमाको साथै जिवन संगीनीको ठुलो आकंक्षा थियो । मन भित्रको चाहना र नेपाली माटो प्रतिको दायित्वलाई अमेरिकामा भएपनी शास्त्रीय संगीतमा केही मैले गर्न सकोस भन्ने चाहना मेरो परिवारमा थियो ।
औपचारिक रूपमा संगीत सिक्नुभएको छ ?
म आफुलाई निकै भाग्यमानी ठानेको छु । मैले मेरो गुरुजी जोन मलिक सगँ उहाँको समिपमा रहेर ५ बर्ष शास्त्रीय संगीतको ज्ञान लिने ठुलो सौभाग्य पाए । म उहाँ प्रति निकै नतमस्तक र कृतज्ञ छु । संगीतको सिकाइ कहिल्यै सकिँदैन । देश माटो र सभ्यता र जिवनका अनुभव र अनुभुतीलाई कलाको माध्यमबाट आम रुपमा समेटन पाउनु नै जिवनको निश्कर्ष हो ।
संघर्षका बेला तपाईंलाई अघि बढ्न प्रेरित गर्ने कुरा के थियो?
श्रोताको सानो प्रशंसा पनि ठूलो ऊर्जा बन्थ्यो । साथै, आफ्नै सपनालाई धोका नदिनु नै मेरो मुख्य प्रेरणा हो । आफनो सिर्जनाले रेडियो टेलिभिजन र अनलाईन मिडियाको कभरेज र समाजले दिएको कलाकार प्रतिको सम्मान ले अगाडि बढ्नको लागी निरन्तर प्रेरित गरिनै रहयो । जुन निरन्तर कर्मशिल भएर आरोह अवरोह आएपनी उतार चडाव आएपनी निरन्तर हौषलाको रुपमा आत्मबोध भै रहयो ।
तपाईंका गीतहरूमा भावनात्मक गहिराइ देखिन्छ, यसका पछाडि के छ ?
म गीतलाई केवल मनोरञ्जनको माध्यम मान्दिनँ । गीत भनेको भावना, अनुभव र कथा हो सिर्जनाको प्रतिविम्व हो । जीवनका उतार–चढाव नै मेरो गीतका आधार हुन् । मौलिकपन , भावनात्मक ग्रामिण परिवेशको चित्रण मेरो संगीतका विषयहरु हुन । नेपाली माटो र नेपाली उर्जाशिल प्रेरणाका शब्द र संगीतका विभिन्न सिर्जनाहरुले मलाई अन्तरमन देखी नै मातृभुमी प्रतिको दायित्वलाई पुरा गर्नुपर्छ र सिर्जना मार्फत नै परिवर्तन आवश्यक समाजलाई गर्न सकिन्छ ।
गीत छनोट गर्दा सबैभन्दा बढी के कुरामा ध्यान दिनुहुन्छ ?
शब्दले मन छोउनुपर्छ । संगीत र भावको सन्तुलन मिल्नुपर्छ। श्रोताले आफूलाई त्यसमा देख्न सकून् भन्ने चाहना हुन्छ । सिर्जना केवल अनुभव मात्र नभएर माटो भुगोल र सभ्यता र सस्कृति प्रतिको कलात्मक विम्ब हो जस्तो लाग्छ । मलाई सिर्जनामा मौलिकता र भावनात्मक प्रेम लाई अन्तरमनबाट जोड्न सकियो भन्ने मात्र सफल संगीत बन्न सक्छ भन्नेमा आशावादी छु र सोही अनुरुपबाट आफना सिर्जनाहरुलाई कोरने गरेको छु ।
आधुनिक संगीत र मौलिकताबीचको सन्तुलन कसरी मिलाउनुहुन्छ?
समयसँगै बदलिनु जरुरी छ, तर जरा नछोडेर । मौलिकपन जोगाउँदै नयाँ प्रयोग गर्नु नै सही बाटो हो ।गीत संगीतको भावलाई कालान्तर सम्म पुयाउनको लागी सदैव एक आपसमा मौलिक भाषा र सस्कृतिको विभिन्न अवधारणलाई अगाडि बढाउनुपर्छ । आधुनिक संगीतमा मौलिक भाव र प्रेमका अन्तरंग परिवेशका भावहरु समेटिने गरेको छ । भने मौलिकता समेटिएको गीतले नेपाली समाजको चित्रण भेषभुषा लाई युग युग सम्म अगाडि बढाउनको लागी सहयोगी भुमीका खेलेको छ ।
तपाईंलाई प्रेरणा दिने कलाकार को–को हुनुहुन्छ?
नेपाली संगीतका धेरै वरिष्ठ कलाकारहरूबाट म प्रभावित छु । उहाँहरूको निरन्तर साधना र सरलता नै मेरो प्रेरणा हो । जिवनमा पाका कलाकारहरुको अनुभव र अनुभुतीबाट मात्र कला र गीत संगीतमा नयाँ आयाम दिन सकिन्छ जस्तो लाग्छ । अग्रज कलाकारहरु जसले नेपाली सुगम संगीतमा आफनो आवाज र जिवन समपर्ण गर्नुभएको छ । उहाँहरुनै मेरो जिवनका प्रेरणाका स्रोतहरु हुन ।
सफलता तपाईंका लागि के हो ?
निरन्तर प्रयास पछिको अर्को उन्नत रुप हो ।
तपाई संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
सुख, शान्ति, आनन्द र खुशीको मधुर संयोजन नै संगीत हो । जुन ईश्वरको बरदानको रुपमा परिभाषित गर्न सकिन्ने विषय हो ।
आगामी दिनका तपाईंका योजना के–के छन ?
केही फरक शैलीका गीतहरूमा काम गर्दैछु । श्रोतालाई नयाँ स्वाद दिने प्रयास रहनेछ । सुगम संगीतमा मौलिक पन युक्त संगीतहरुलाई निरन्तर जिवन काल सम्म ल्याउन आतुर नै भैरहेको हुनेछु ।
अन्त्यमा आफ्ना श्रोतालाई के भन्न चाहनुहुन्छ ?
मलाई माया र विश्वास गर्नुहुने सबै श्रोतालाई हृदयदेखि धन्यवाद। तपाईंहरूको साथले नै म अझ राम्रो काम गर्न प्रेरित हुन्छु । सुगम संगीतको विकास र विस्तारमा निरन्तर रुपमा सक्रिय रुपमा लागी परेको छु । भगवानरुपी आम दर्शक तथा स्रोताको मन मस्तिष्कमा निरन्तर क्रियाशिल भएर लाग्न पाउँ भन्न चाहन्छु ।










