काठमाडौं । गीत संगीत क्षेत्रमा नयाँ तर प्रभावशाली उपस्थिति जनाउँदै आएका रचनाकार भीम कुमार ओझाले आधुनिक गीत “अनिदो रात” मार्फत सातौं ज्योति फिल्म्स म्युजिक अवार्ड २०८२  मा उत्कृष्ट शब्द रचनाको अवार्ड प्राप्त गरेका छन् । यस अवार्डलाई ओझाले केवल पुरस्कारको रूपमा नभई आफ्ना सिर्जनाप्रति गरिएको ठूलो विश्वास र स्वीकारोक्तिको रूपमा लिएको बताएका छन् ।

भीमकुमार ओझाले जीवनको ठूलो अध्याय न्याय सेवामा बिताएका छन् । उनले करिब ३५ वर्षसम्म न्याय क्षेत्रमा सेवा गर्दै अदालतका बेन्चबाट समाजका असंख्य यथार्थहरू नजिकबाट अनुभव गरे । टुटेका सम्बन्ध, चिरिएका भरोसा, मौन पीडा र संघर्षका कथाहरू उनले न्यायिक यात्रामा देखे र लेखे पनि ती अनुभूतिहरू फाइलमै सीमित रहन पुगे, जहाँ भावना होइन प्रमाण बोल्थ्यो ।

यद्यपि, ती सबै व्यस्तताबीच पनि गीत–संगीतप्रतिको प्रेम भने उनको मनमा मौन रूपमा जीवित रहिरह्यो । अहिले भने ओझाले न्याय सेवाबाट अवकास लिइसकेका छन् । अवकाशपछि त्यही मौन चाहनाले पुनः सिर्जनाको ढोका ढकढक्याउँदै उनलाई गीत लेखनतर्फ फर्काएको छ । आफ्नै अनुभूतिको कथा गीतमा उतार्ने प्रेरणाले उनको दोस्रो सांगीतिक यात्रा सुरु भयो ।

यस क्रममा अन्जु गौतम तथा सन्तोष बिसी सँगको सहकार्यबाट चर्चित गीत “तानैमा बुनेको ढाकाको टोपी तेह्रथुम जिल्लाको” जन्मिएको थियो । उक्त गीत पूर्वेली लोक स्वादमा रहेको छ ।

ज्योति फिल्म्स म्युजिक अवार्ड प्राप्त भएको गीतमा भीम कुमार ओझाको शब्द, सन्तोष बिसीको संगीत, नारायण दङ्गालको एरेञ्ज तथा वरिष्ठ गायक थानेश्वर गौतमको स्वर सुन्न सकिन्छ ।

पुरस्कार प्राप्तिप्रति खुसी व्यक्त गर्दै ओझाले यस उपलब्धिलाई अहंकारको होइन, संघर्ष, धैर्य र विश्वासको आशीर्वादको रूपमा लिएको बताएका छन् । उनले आफ्नो सांगीतिक यात्रामा साथ र सहयोग गर्ने सबैप्रति सदैव आभारी रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यो अवार्डसँगै गीत–संगीत क्षेत्रमा उनको सक्रियता अझ सशक्त हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया