१९ वर्षकै उमेरमा बलिउडमा सनसनी मच्चाएकी अभिनेत्री दिव्य भारती आज पनि दर्शकको मनबाट ओझेलिएकी छैनन्। छोटो समयमै १२ भन्दा बढी फिल्ममा अभिनय गरेर नाम कमाएकी दिव्याको रहस्यमय निधनले फिल्म उद्योगलाई स्तब्ध बनाएको थियो। उनको मुस्कान, चुलबुले स्वभाव र “ऐसी दिवानगी” तथा “सात समुन्दर पार” जस्ता गीत आज पनि उत्तिकै लोकप्रिय छन्।
यहीबीच, भारतीय मिडियामा पछिल्ला दिनमा एउटा नयाँ अनुहारलाई लिएर चर्चा चुलिएको छ। सामाजिक सञ्जालमा धेरैले उनलाई दिव्या भारतीको झल्को दिने युवती भन्दै चर्चा गरिरहेका छन्। ती हुन् नव्या श्री (मञ्जु थापा)।

२५ फेब्रुअरी २००३ मा कोलकातामा जन्मिएकी नव्या सानो परिवारमा हुर्किइन्। ९ वर्षको उमेरमै पिताको निधन भएपछि उनको जीवन संघर्षतर्फ मोडियो। भारतको कोलकाताका पिता र नेपालको विराटनगरकी आमाबाट जन्मिएकी नव्यालाई आमाले नै दुःख–सुख सहेर हुर्काइन्। कठिन परिस्थितिका बाबजुद उनले आफ्नो लक्ष्य छोडिनन्।
कम उमेरमै उनले सौन्दर्य प्रतियोगितामा उल्लेखनीय सफलता हात पारिन्। १५ वर्षको उमेरमा “प्लानेट मिस इन्डिया २०१८”, “मिस टिन रिपब्लिक अफ २०१८” र “मिस नर्थइस्ट २०१८” जस्ता उपाधि जित्दै उनले मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिन्।
नव्याको अनुहार मात्र होइन, जन्ममिति पनि दिव्यासँग मिल्छ—२५ फेब्रुअरी। फरक यति मात्र हो कि दिव्या भारतीको जन्म सन् १९७४ मा भएको थियो भने नव्याको सन् २००३ मा। यही संयोगले धेरैलाई चकित बनाएको छ र पुरानो यादलाई फेरि ताजा गराएको छ।
फिल्म क्षेत्रमा प्रवेशको तयारीकै क्रममा एक निर्देशकको सुझावमा उनले आँखाको सर्जरी गराइन्। तर त्यसपछि केही समयका लागि आँखामा समस्या देखियो। त्यतिबेला उनी १९ वर्षकी थिइन्। करिब पाँच वर्षको उपचारपछि अहिले उनी पूर्ण रूपमा स्वस्थ भई फिल्म इन्डस्ट्रीमा सक्रिय हुन तयार भएकी छन्। उनको मेहनत, आत्मविश्वास र निरन्तर संघर्षले आज उनलाई बलिउड, तेलुगु तथा नेपाली फिल्म उद्योगतर्फ अवसरको ढोका खोलिदिएको छ। दर्शकहरूको मायाले पनि उनलाई थप ऊर्जा दिएको छ।
दिव्या भारतीको याद कहिल्यै मेटिँदैन। तर नयाँ पुस्तामा त्यही झल्को बोकेर अगाडि बढिरहेकी नव्या श्रीले अब कस्तो उचाइ हासिल गर्लिन्? समयसँगै यसको उत्तर प्रस्ट हुनेछ।










