यस वर्ष व्यावसायिक रूपमा सफल ठहरिएको फिल्म ‘मोहर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ। शुक्रबार निर्माता कम्पनी फिल्ममेकर्स प्रालिले थिम पोस्टर सार्वजनिक गर्दै ‘मोहर २’को औपचारिक घोषणा गरेको हो। फिल्मलाई पुनः ओम प्रतीक ले निर्देशन गर्नेछन् भने प्रस्तुतकर्ताका रूपमा चुम्बन जंग शाही रहनेछन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी वर्षको मध्यतिर सुरु गर्ने तयारी छ। घरेलु बक्स अफिसमा पाँच करोडभन्दा बढी व्यापार गर्न सफल ‘मोहर’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

अब यसको सिक्वेललाई अझ व्यापक क्यानभासमा प्रस्तुत गर्ने तयारी भइरहेको निर्देशक प्रतीकले बताएका छन्। पहिलो श्रृंखलामा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही र मिथिला शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको थियो। निर्माण पक्षले ‘मोहर २’मा पनि पुरानै कलाकारलाई दोहोर्‍याउने सम्भावना उच्च रहेको जनाएको छ। निर्देशकका अनुसार पलसहितका कलाकारलाई केन्द्रमा राखेर स्क्रिप्ट विकास भइरहेको छ।

रोचक कुरा के छ भने ‘मोहर २’ सिधै अगाडिको कथा नभई प्रिक्वेलका रूपमा निर्माण हुनसक्ने संकेत गरिएको छ। अर्थात् पहिलो भागभन्दा अगाडिको समयावधिको कथावस्तुमा फिल्म आधारित हुनेछ। देउकी प्रथाजस्तो संवेदनशील सामाजिक विषयमा बनेको ‘मोहर’ले कलाकारहरूको अभिनयलाई नयाँ उचाइ दिएको थियो। विशेषगरी नीति शाहका लागि यो करिअरकै पहिलो सफल फिल्म बनेको थियो भने पल शाहका लागि जेल जीवनपछि मुख्य अभिनेताको रूपमा पाएको पहिलो हिट सावित भएको थियो। बेनिशा हमालको लामो करिअरमा पनि यो दोस्रो हिट फिल्मका रूपमा दर्ज भएको छ। अब ‘मोहर २’ले पहिलो भागको सफलता दोहोर्‍याउन सक्छ कि सक्दैन भन्ने चासो फिल्मवृत्तमा बढ्न थालेको छ।

तपाईको प्रतिक्रिया