काठमाडौं । ११ वर्षीय कक्षा ५ मा अध्ययनरत विद्यार्थी अभिक गौतमको पहिलो उपन्यास ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ।
शनिबार ललितपूरमा भएको कार्यक्रममा उक्त कृतिलाई श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,छविरमण सिलवाल र स्रष्टा गौतम लगायतले उक्त कृतिको लोकार्पण गरेका हुन् ।
प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष एवं अग्रण निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले ९ बर्षकै उमेरमा उपन्यास तयार पार्नु आफैंमा सानो सफलता नभएको बताए । पाली पाठक र साहित्यकारहरुको निम्ति यो गर्वको विषय भएको हुँदा गौतमबाट आफुले अरु कृतिको पनि अपेक्षा गरेको छु ।’उनले भने ।
विशिष्ठ अतिथि बरिष्ठ साहित्यकार एवं समालोचक प्रमोद प्रधानले कृतिमाथि चर्चा गरे ।’कृतिमा यात्रा,रोमाञ्च,साहस सबै कुरा आएको छ । यसले दशवर्षसम्मका बालबालिकाहरुलाई कस्तो साहित्य मन पर्छ भन्ने संकेत गर्छ । यस्ता कृतिहरु कम आएको अबस्थामा आफ्नो उमेरका बालबालिकाको मनोविज्ञान बुझेर साहित्य सृजना गरेको देखिन्छ’ उनले भने । उनले लेखकको कल्पनाशीलता राम्रो रहेको बताए । कम उमेरमै देखिएको सृजनात्मक क्षमता, कथाको संरचना र कल्पनाशील प्रस्तुतीको प्रशंसा गर्दै बालबालिकामा पठनसंस्कृति र सिर्जनशीलताको प्रवर्द्धनका लागि यस्तो पहल प्रेरणादायी रहेको उल्लेख गरे ।
विचित्र जनावर र छुट्टै संसारको निर्माण गरी उपन्यास सृजित भएको भन्दै सञ्चारकर्मी विन्देश दहालले अभिकले आमाको सम्मानभाव प्रकट गरेको पनि बताए ।
सुनकोसी वाङ्मयका प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले बालबालिकाको सृजनालाई महत्व दिने विद्यालय र परिवारप्रति धन्यवाद प्रकट गरे ।
कृतिकार अभिक गौतमले आफुले माया पाएर उत्साहित भएको भन्दै उपस्थित सबैलाई धन्यवाद दिए ।
निसर्ग वाटिका विद्यालयका प्रधानाध्यापक मोनिका प्रधान,साहित्यकार भारद्धाज मित्रले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।
नियात्राकार प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रम भुँडीपुराण प्रकाशनका केशव पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा लेखकका साना साना बहिनीहरु साम्राज्ञीसिंह कुँवर र अस्मि महतले लेखकलाई बधाई ज्ञापन गरे ।
कार्यक्रममा साहित्यकार,कृतिकारका परिवारका सदस्यहरु,निसर्ग वाटिकाका शिक्षक,शिक्षिका र विद्यार्थीहरुको बाक्लै उपस्थित रहेको थियो ।
कृतिलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
उपन्यास अविकले ९ वर्षको उमेरदेखि लेख्न सुरु गरेका थिए र सन् २०२५ जुनमा प्रारम्भिक मस्यौदा पूरा गरेका थिए। साहसिक तथा कल्पनाशील कथामा आधारित यस कृतिले जिज्ञासा, साहस र अनपेक्षित यात्रामार्फत जीवन रूपान्तरणका विषयलाई उजागर गरेको छ।

तपाईको प्रतिक्रिया