आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरले फिल्मको मूल भाव–रहस्य, पीडा र आन्तरिक संघर्ष–लाई शक्तिशाली ढंगले प्रस्तुत गरेको छ।

पोस्टरमा मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापा गम्भीर र चिन्तित मुद्रामा देखिएका छन्। सिउँदोमा सिन्दूर र निधारमा रातो टीका लगाएकी सुहाना उदास भावमा प्रस्तुत भएकी छन्, जसले दबिएको भावना र मनोवैज्ञानिक तनावको संकेत गर्छ। सौगात र प्रकाशको अनुहारमा देखिएको निराशा र गहिरो पीडाले कथावस्तु भावनात्मक द्वन्द्वमा केन्द्रित रहेको स्पष्ट पार्छ। फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। कलाकारहरूको सूचीमा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मन्जिला बाँनिया लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ। हरिओम सिने मेकर्सका सुशील पोखरेल निर्माता रहेको यस फिल्मको लेखन सुशील देवकोटाले गरेका हुन्।

चर्चित साहित्यकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’बाट प्रेरित भनिएको फिल्ममा श्रीमान्–श्रीमती चामे र गौँथलीबीचको झैँझगडालाई केन्द्रीय विषय बनाइएको छ। वैवाहिक सम्बन्धभित्रको मनोवैज्ञानिक तनाव र सामाजिक यथार्थलाई फिल्मले उजागर गर्ने अपेक्षा गरिएको छ । प्राविधिक पक्षतर्फ संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य–स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ। पोस्टर सार्वजनिकसँगै फिल्मप्रति दर्शकमाझ चासो बढ्न थालेको छ।

तपाईको प्रतिक्रिया