डा. शेखर कोइराला
उम्मेदवार, नेपाली कांग्रेस, मोरङ–६
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न एजेण्डासहित उम्मेदवारहरुले चुनावी सभासँगै घरदैलो र भेटघाटलाई बाक्लो बनाएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइराला पनि चुनावी अभियानमा व्यस्त देखिएका छन् । मोरङ–६ मा मात्रै होइन देशैभर कांग्रेसप्रति मतदाताको आकर्षण बढेको कोइराला बताउँछन् । संविधान र लोकतन्त्रको रक्षाका लागि आसन्न चुनाव अत्यन्तै महत्वपूर्ण रहेको उनको भनाइ छ । निकै सुझबुझका साथ मतदान गर्न कोइरालाले मतदाताहरुलाई आग्रह गरेका छन् । कोइरालाले सार्वजनिक गरेको अठोटपत्रसहित मोरङ–६ को विकास निर्माणलगायत विषयमा केन्द्रित रहेर उम्मेदवार कोइरालासितको कुराकानीको सार–
तपाईंले सार्वजनिक गर्नुभएको ८ बुँदे अठोट पत्रको मुख्य सार के हो ?
मेरो अठोट पत्र कुनै औपचारिक दस्तावेज मात्र होइन, यो मोरङ–६ र देशको भविष्यप्रतिको जिम्मेवारीबोध हो । यसमा पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुधार, कृषि आधुनिकीकरण, उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना, सुशासन, संविधान र लोकतन्त्रको रक्षा तथा युवामैत्री नीति समेटिएको छ । यो मेरो प्रतिबद्धता मात्र होइन—जनतासँगको वाचा पनि हो ।
मोरङ क्षेत्र नम्बर ६ को विकासका लागि तपाईंको पहिलो प्राथमिकता के हुनेछ ?
पहिलो प्राथमिकता पूर्वाधार र रोजगारी हो । सडक, खानेपानी, स्वास्थ्य चौकी, विद्यालयको स्तरोन्नति जस्ता आधारभूत काम तुरुन्तै अघि बढाइनेछ । साथै साना तथा मझौला उद्योगलाई प्रोत्साहन गरेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने स्पष्ट योजना छ ।
मुलुकको आर्थिक विकासका लागि तपाईंले के फरक योजना अघि सार्नुभएको छ ?
उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरी देश समृद्ध हुँदैन । कृषि, पर्यटन, ऊर्जा र साना उद्योगमा लगानी वृद्धि गर्नुपर्छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्दै पारदर्शी नीतिगत वातावरण सिर्जना गर्नु आवश्यक छ । आयातमा निर्भर अर्थतन्त्रलाई निर्यातमुखी बनाउने दीर्घकालीन रणनीति जरुरी छ ।
रोजगारी सिर्जनाका विषयमा तपाईंको ठोस योजना के छ ?
युवालाई सीप, प्रविधि र लगानीसँग जोड्नु नै समाधान हो । प्राविधिक शिक्षा विस्तार, स्टार्टअप कोष स्थापना र कृषि तथा उद्योगमा आधारित रोजगारी कार्यक्रम ल्याउने मेरो अठोट छ । विदेश पलायन रोक्न देशमै अवसर सिर्जना गर्नुपर्छ ।
मोरङ–६ लाई औद्योगिक केन्द्रका रूपमा विकास गर्ने कुरा गर्नुभएको छ । कसरी सम्भव छ ?
यो क्षेत्र ऐतिहासिक रूपमा औद्योगिक सम्भावना बोकेको भूगोल हो । लगानीमैत्री वातावरण, कर सहुलियत, सीपयुक्त जनशक्ति र पूर्वाधार विकासमार्फत निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ । उद्योग बढेपछि रोजगारी स्वतः सिर्जना हुन्छ, स्थानीय अर्थतन्त्र बलियो बन्छ ।
संविधान र लोकतन्त्रको रक्षा किन अहिले विशेष मुद्दा बनेको छ ?
संविधान केवल कागजको दस्तावेज होइन, जनआन्दोलनको बलिदानको परिणाम हो । लोकतन्त्र कमजोर भयो भने विकास सम्भव हुँदैन । अहिले विभिन्न कोणबाट संघीयता, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाइँदैछ । त्यसैले संसदमा सशक्त आवाज आवश्यक छ, जसले संविधानको रक्षा मात्र होइन, यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरोस् । अधिकार, स्वतन्त्रता र समावेशिताको रक्षा गर्दै संस्थागत स्थायित्व कायम गर्नु अहिलेको आवश्यकता हो । यसका लागि दृढ राजनीतिक प्रतिबद्धता चाहिन्छ ।
‘अबको नेपाल’ तपाईंको दृष्टिमा कस्तो हुनुपर्छ ?
अबको नेपाल आत्मनिर्भर, समावेशी र अवसरयुक्त हुनुपर्छ । युवाले देशमै भविष्य देख्ने, किसानले उत्पादनको उचित मूल्य पाउने, श्रमिकले सम्मान पाउने र नागरिकले गुणस्तरीय सेवा पाउने नेपाल निर्माण गर्नुपर्छ ।
तपाईंको अठोट पत्र अन्य उम्मेदवारभन्दा कसरी फरक छ ?
मेरो प्रतिबद्धता भाषणमा सीमित छैन। विगतको अनुभव, नीति निर्माणमा संलग्नता र विकासप्रतिको स्पष्ट दृष्टिकोणले यसलाई कार्यान्वयनयोग्य बनाउँछ । जनताको विश्वास जितेर परिणाम दिने नेतृत्वको आवश्यकता छ ।
मोरङ–६ का युवालाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
तपाईंहरू नै परिवर्तनका वाहक हुनुहुन्छ । राजनीतिलाई दोष मात्र नदिनुहोस्—सक्रिय सहभागिता जनाउनुहोस् । म युवाको ऊर्जा र सिर्जनशीलतालाई नीतिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
विदेश पलायन समाधान होइन । अवसर यहीं सिर्जना गर्नुपर्छ । सीप विकास, स्टार्टअप प्रोत्साहन, कृषि आधुनिकीकरण र सूचना प्रविधि क्षेत्रमा लगानीमार्फत युवालाई आफ्नै माटोमा भविष्य देखाउने प्रतिबद्धता मैले लिएको छु ।
घरदैलो अभियानमा जनताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
अत्यन्तै उत्साहजनक प्रतिक्रिया पाइरहेको छु । जनतामा आशा छ—स्थिरता, विकास र इमानदार नेतृत्वको । त्यो विश्वासलाई परिणाममा बदल्नु मेरो दायित्व हो ।
घरदैलोमा नेता, कार्यकर्ताको उपस्थिति कस्तो पाउनु भएको छ ?
यतिबेला कांग्रेस चलायमान भएको छ । क्रियाशील सदस्यदेखि लिएर शुभेच्छुक र पार्टीका विभिन्न जिम्मेवारीमा रहेका साथीहरु अहोरात्र खट्नु भएको छ । भातृ संगठनहरु टोलदेखि वडाहुँदै पालिका र क्षेत्रसम्मै चलायमान भएका छन् । सबै साथीहरुले आ–आफ्नो जिम्मेवारी पूरा गरिरहनु भएको छ । सबैको सक्रियताले परिणाम कांग्रेसको पक्षमा आउनेमा म ढुक्क छु । मोरङ–६ मा मात्रै होइन देशैभरि कांग्रेसप्रति आममतदाताको आशा र विश्वास रहेको पाएको छ ।
निर्वाचनप्रति मतदाता त त्यति उत्साहित छैनन् भन्ने आइरहेको छ नि ?
विशेष राजनीतिक परिस्थितिका कारण नेपालमा निर्वाचन हुन गइरहेको छ । यो निर्वाचनले मात्रै मुलुकलाई राजनैतिक निकास दिन्छ । संविधान र लोकतन्त्रलाई सही ट्रयाकमा लान्छ । त्यसो भएकाले मतदाताले पनि परिस्थितिलाई बुझ्नु भएको छ । ५ वर्षका लागि म्यान्डेट दिएर सांसदहरुलाई निर्वाचित गरेर पठाएका थिए मतदाताले । परिस्थतिले गर्दा बीचमै निर्वाचन हुने अवस्था आयो । सुरुका दिनमा मतदातामा तपाईंले भनेजस्तै केही निराशा र अन्यौलको अवस्था थियो । अब त्यस्तो छैन । सबै मतदाताहरु फागुन २१ गतेलाई कुरेर बसेका छन् । असल जनप्रतिनिधि छनोट गर्न उनीहरु आतुर छन् । २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको, माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको, २०६२÷६३ को दोस्रो जनआन्दोलनको नेतृत्व गरेको, संविधान निर्माणमा नेतृत्व गरेको, संविधान जारी भएपछि तीनै तहको सफलतापूर्वक निर्वाचन गराएको, संघीयता र लोकतन्त्रलाई संस्थागत गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसप्रति मतदाताहरु आकर्षण बढ्दै गएको छ । कांग्रेसले मात्रै देशलाई निकास दिन सक्छ भन्ने कुरा आममतदाताले बुझिसक्नु भएको छ ।
अन्त्यमा, मतदातासँग तपाईंको मुख्य अपिल के हो ?
यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, भविष्यको दिशा तय गर्ने अवसर हो भन्ने मलाई लाग्दछ । मोरङ–६ को विकास, संविधानको रक्षा र समृद्ध नेपालको यात्रामा म तपाईंहरूको साथ, विश्वास र मतको अपेक्षा गर्छु । म वाचा होइन, काम गर्ने अठोटका साथ तपाईंहरूमाझ आएको छु ।










