राम नवमीको अवसर पारेर चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक गरिएको छ। सोमबार फागु पूर्णिमा (होली)को अवसर पार्दै निर्माण टिमले दर्शकमाझ टिजर ल्याएको हो। सार्वजनिक टिजरले तीन दाजुभाइबीचको आत्मीय सम्बन्ध, आपसी विश्वास र पारिवारिक एकताको चित्र प्रस्तुत गर्छ।

तर, विवाहपछि उनीहरूको जीवनमा आउने परिवर्तन र त्यसबाट सिर्जित मनमुटावले कथामा द्वन्द्व थपिएको संकेत टिजरले दिन्छ। भावनात्मक तथा पारिवारिक कथावस्तुमा आधारित फिल्मले सम्बन्धको संवेदनशील पाटोलाई उठान गर्ने देखिन्छ। फिल्मको निर्देशन मधुसुदन भट्टराईले गरेका हुन्। कलाकारको लामो सूची रहेको यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन केसी र विरेन श्रेष्ठ लगायतले अभिनय गरेका छन्।

निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् भने विक्रम तामाङ कार्यकारी निर्माताको रूपमा छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे छन्। साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा शिवम् अधिकारीको लेखन, शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कमल राईको नृत्य निर्देशन तथा साप शक्ति र बाबुल गिरीको संगीत रहेको छ।
पारिवारिक कथा, सम्बन्धको मिठास र तिक्तताबीचको द्वन्द्वलाई समेटेको ‘हामी तीन भाइ’ले राम नवमीको अवसरमा दर्शकको साथ कत्तिको पाउँछ, त्यो भने प्रदर्शनपछि स्पष्ट हुनेछ।

तपाईको प्रतिक्रिया