अभिनेता तथा गायक प्रकाश सपूत यतिबेला राजनीति र फिल्म दुवै क्षेत्रमा चर्चामा छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ उम्मेदवारी दिएसँगै राजनीतिक यात्रा औपचारिक रूपमा सुरु गरिसकेका छन्। दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा नाम परेका कारण उनी आगामी संसदमा प्रवेश गर्ने लगभग निश्चित मानिएको छ।
यसैबीच, सांसद बन्ने तयारीमा रहेका सपूत अभिनीत नयाँ फिल्म ‘परालको आगो’ को टिजर सोमबार सार्वजनिक गरिएको छ। टिजरमा श्रीमान्–श्रीमती चामे र गौँथलीबीचको झगडा र सम्बन्धको उतारचढावलाई केन्द्रमा राखिएको देखिन्छ। सपूतले रिसाहा श्रीमान् चामेको भूमिका निर्वाह गरेका छन् भने उनकी श्रीमतीको भूमिकामा सुहाना थापा देखिएकी छन्। टिजरमा सौगात मल्ल को पनि झलक समावेश गरिएको छ।
निर्देशक लक्ष्मण सुनार को निर्देशनमा बनेको फिल्ममा सौगात, प्रकाश र सुहानासहित सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मन्जिला बाँनिया लगायत कलाकारको अभिनय रहेको छ। फिल्म हरिओम सिने मेकर्स को ब्यानरमा सुशील पोखरेल ले निर्माण गरेका हुन् भने कथालेखन सुशील देवकोटा ले गरेका छन्।
प्राविधिक पक्षतर्फ फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन र कनाल कँवरको रंग संयोजन रहेको छ। संगीतमा शान्ती ठटाल, सत्य–स्वरुप र स्वयं प्रकाश सपूतको योगदान रहेको बताइएको छ।
आगामी बैशाख ११ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म ग्रामीण लोककथाका प्रणेता मानिने गुरुप्रसाद मैनाली को चर्चित कथा परालको आगो बाट प्रेरित भएर निर्माण गरिएको हो।
फिल्मले गाउँघरको परिवेशमा दाम्पत्य सम्बन्ध र मानवीय भावनाको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।










