अभिनेता तथा निर्देशक नीर शाहको आठौँ निर्देशकीय फिल्म ‘कमला मिस’को छायांकन सम्पन्न भएको छ । मंगलबार ललितपुरको एक गाउँमा अन्तिम दृश्य खिचिएसँगै २३ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको हो । लाइन प्रोड्युसर पुस्कर लामा (प्रेम बम्जन)का अनुसार प्रतिनिधि सभा निर्वाचनका कारण तीन दिन छायांकन प्रभावित भए पनि फिल्मको काम निर्धारित समयमै सकिएको हो ।
बाल मनोविज्ञानमा आधारित यस फिल्ममा निर्देशक शाहसहित रमेश बुढाथोकी, बासना तिमल्सेना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा र राजन केसीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको निर्माण विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले गरेकी हुन् । उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्माताका रूपमा रहेका छन् ।
फिल्मको कथा स्वर्गीय साहित्यकार विजय मल्लको हो । सन् १९६९ मा प्रकाशित उनको चर्चित नाट्यकृति ‘कोही किन बर्बाद होस्’बाट प्रेरित हुँदै फिल्म निर्माण गरिएको हो । पटकथा तथा संवाद प्रजल दुलाल, सुगम दुलाल र निर्देशक शाहले संयुक्त रूपमा तयार पारेका हुन् । प्राविधिक पक्षमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् ।
प्रेम, मातृत्व र अभिभावकको जिम्मेवारीले बालबालिकाको मनोविज्ञानमा पार्ने प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्म आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।










