नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सनप्रधान नेपाली फिल्म ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ। झण्डै २ मिनेट लामो टिजर अभिनेता विराज भट्टको दमदार एक्सन अवतारमा केन्द्रित छ। टिजरमा विराज सयौं भिलेनसँग भिडिरहेका दृश्यहरू देखिन्छन्, जसले फिल्मलाई पूर्ण रूपमा एक्सनप्रधान बनाएको संकेत दिन्छ। उच्च प्रोडक्सन भ्यालुमा तयार गरिएको टिजरमा एक्सन दृश्यहरू साउथ फिल्म शैलीमा खिचिएको अनुभूति हुन्छ।

टिजरको सुरुवातमै विराजको संवाद सुनिन्छ,“मृत्युलाई सारथी ठान्ने म, पहिलो पटक डराएँ । जब आँखै अगाडि आफ्ना मान्छेहरू गुमाएँ ।” यस संवादले फिल्मको मूल कथावस्तु आफ्ना प्रियजन गुमाएपछि नायकले लिने बदलामा केन्द्रित रहेको संकेत गर्छ। टिजरमा विराजलाई केही ठाउँमा पश्चिमेली भाषा बोलिरहेको दृश्य पनि समेटिएको छ।

कोरियोग्राफरका रूपमा परिचित माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराजसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा र प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ। टिजरमा सबै कलाकार देखिए पनि संवाद भने मुख्यतः विराज र सुनिल थापाको मात्रै राखिएको छ। माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता उपेन्द्र शाही र स्वेता विमली हुन्। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् भने मोती कार्की क्रियटिभ निर्माता हुन्।

फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन रहेको छ। संगीत पक्षमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको योगदान रहेको छ।
एक्सन र बदलाको कथामा आधारित यो फिल्मले नयाँ वर्षको अवसरमा दर्शकलाई कत्तिको आकर्षित गर्छ भन्ने भने प्रदर्शनपछि मात्र थाहा हुनेछ।

तपाईको प्रतिक्रिया