अभिनेत्री तेरिया फौजा मगरको डेब्यु फिल्म ‘मितज्यू’ निर्धारित मितिभन्दा अगाडि नै प्रदर्शनमा आउने भएको छ। यसअघि जेठ १५ गते रिलिज हुने भनिएको फिल्म अब एक साताअघि, अर्थात् जेठ ८ गतेबाट देशभरका हलमा लाग्ने भएको हो। निर्माण पक्षले आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति परिवर्तनको जानकारी दिएको हो। हालसम्म उक्त मितिमा फिल्मलाई सोलो रिलिजको अवसर मिल्ने देखिएको छ।
सार्वजनिक पोस्टरमा कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर र शिशिर वाङ्देललाई फरक–फरक भावमा प्रस्तुत गरिएको छ। पोस्टरमा दयाहाङ घाइते अवस्थामा देखिन्छन् भने सौगात कुखुराको भाले बोकेर मुस्कुराउँदै कतै हेरिरहेका छन्। तेरिया भने मजेत्रोले टाउको बेरेर सोचमग्न मुद्रामा देखिएकी छन्। पोस्टरको प्रस्तुतीले फिल्म सामाजिक सम्बन्ध र भावनात्मक कथामा आधारित रहेको संकेत गर्छ। अनिल बुढा मगरको निर्देशन तथा जनक घर्ती मगरको निर्माणमा बनेको फिल्ममा दयाहाङ, सौगात, शिशिर र तेरियासँगै पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम र खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा महेश राईले लेखेका हुन् भने छायांकन शिशिर बिशंखेले गरेका छन्। सम्पादन लोकेश बज्राचार्यको रहेको छ। संगीत श्रीकृष्ण बम मल्लले तयार पारेका छन् भने साउन्ड डिजाइन मुकेश शाहले गरेका छन्। त्यस्तै, ब्याकग्राउन्ड म्यूजिक शैलेश श्रेष्ठ, कोरियोग्राफी मिङ्मा डिलेप्चा तथा द्वन्द्व निर्देशन प्रभात विष्ट र सुरज श्रेष्ठको रहेको छ। त्यस्तै फिल्मको देशव्यापी वितरण RR Films ले गर्ने जनाइएको छ।










