प्रख्यात निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म पहाडको टिजर सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको झण्डै दुई मिनेट लामो टिजरले फिल्मको कथावस्तु, पात्र र परिवेशबारे झलक प्रस्तुत गर्छ ।


टिजरमा नेपालको पहाडी जीवनको यथार्थ चित्रण गरिएको छ । पहाडमा देखिएको पानीको अभाव, कठिन जीवन, वैदेशिक रोजगारीका कारण हुने पीडा, प्रेम र विद्रोहजस्ता विषयलाई टिजरले समेटेको देखिन्छ । पहिलो दृश्यमै पानीको हाहाकार देखाइन्छ भने अर्को एक दृश्यमा महिलाहरूले लास बोकेको दृश्य प्रस्तुत गरिएको छ । यी दृश्यहरूले पहाडी भेगमा बढ्दो समस्या र संघर्षलाई फिल्मको मुख्य कथावस्तु बनाइएको संकेत गर्छन् ।
टिजरमा नेपालको पहाडी भूगोलदेखि भारतको दिल्लीसम्मका दृश्यहरू देख्न सकिन्छ, जसले रोजगारीका लागि विदेशिने नेपालीहरूको कथा पनि फिल्ममा समेटिएको आभास दिन्छ ।


भाग्यरत्न फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, प्रियंका कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, भारती घिमिरे र रवीन्द्रसिंह बानियाँलगायत कलाकारहरूको अभिनय रहेको छ । निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमीले यही फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन् ।

फिल्मका प्रस्तुतकर्ता उत्तम रसाइली हुन् भने सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन् । फिल्ममा प्रमोद प्रधानको छायांकन, भारती घिमिरे र शंकर कोइरालाको सम्पादन, रञ्जित गजमेरको संगीत, कविराज गहतराज र मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्म आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ

तपाईको प्रतिक्रिया