नेपाली फिल्म क्षेत्रमा कलाकार हेरफेर हुनु नौलो विषय होइन । तर, फिल्म ‘जलाकी’मा देखिएको कलाकार परिवर्तनको क्रम भने केही फरक र रोचक बनेको छ । फिल्मको २०८१ साल चैतमा भएको शुभमुहूर्तमा मुख्य भूमिकाका लागि अभिनेता सोनम तोप्देन अनुबन्धित थिए । अभिनेत्री उपासना सिंह ठकुरीसँग उनको जोडी तय गरिएको थियो । तर, मुहूर्तपछि लामो समयसम्म छायांकन अघि बढ्न नसक्दा सोनम अर्को फिल्म ‘ऐरी’मा व्यस्त बने ।
‘ऐरी’को छायांकनकै क्रममा उनी खुट्टा भाँचिएर घाइते भएपछि ‘जलाकी’ टिमले मुख्य भूमिकामा परिवर्तन गर्दै धीरज मगरलाई अनुबन्धित गर्‍यो भने सोनमलाई विशेष भूमिकामा सीमित गरियो । तर, त्यसपछि पनि झण्डै ११ महिनासम्म फिल्मको छायांकन सुरु हुन सकेन ।

यसबीचमा परिस्थितिले फेरि मोड लियो । सोनम पूर्ण रूपमा स्वास्थ्यलाभ गरेपछि उनलाई पुनः मुख्य भूमिकामै फर्काइएको छ भने धीरज मगर आपसी सहमतिमै फिल्मबाट बाहिरिएका छन् ।
हाल सोनम मुख्य भूमिकामा फर्किएसँगै कास्कीका विभिन्न स्थानमा करिब ९ दिनदेखि फिल्मको छायांकन भइरहेको छ । फिल्मका निर्देशक अशोक थापा मगर हुन् ।

मगर समुदायको कथामा आधारित ‘जलाकी’मा सोनम र उपासनासँगै साहारा हाङमा लिम्बू, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन र खड्क बहादुर पुन (खबपु) लगायत कलाकारको अभिनय रहनेछ । फिल्मका निर्माता ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

तपाईको प्रतिक्रिया