पूर्वको झापा जिल्लामा दुई सातादेखि फिल्म ‘पाँच पाण्डव’को छायांकन भइरहेको छ। निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेको यस फिल्मको टिममा छायांकनकै क्रममा दुई नयाँ कलाकार थपिएका छन्। अभिनेता प्रशान्त ताम्राकार र अभिनेत्री इभा गिरी फिल्ममा अनुबन्धित भएका हुन्।

आइतबारदेखि उनीहरूले आफ्नो भागको छायांकन सुरु गरिसकेका छन्। छायांकन सेटबाट सार्वजनिक तस्वीरमा प्रशान्त जुँगासहित शिरमा टोपी लगाएर फरक र आकर्षक लुक्समा देखिएका छन् भने इभा हल्का सेतो रंगको कुर्थामा देखिएकी छन्। निर्माण पक्षले भने उनीहरूको भूमिकाबारे अझै विस्तृत जानकारी दिएको छैन।
कन्टेन्ट क्रिएटरको रूपमा परिचित इभा गिरीका लागि यो अभिनयको दोस्रो फिल्म हो। उनले यसअघि फिल्म ‘नमेटिने घाउ’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी थिइन्।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता तथा काली रानी श्रेष्ठ निर्माता रहेको फिल्ममा प्रशान्त र इभासँगै हरिवंश आचार्य, जितु नेपाल (मुन्द्रे), आर्यन सिग्देल, महेश त्रिपाठी, सागर लम्साल (बले), दीपाश्री निरौला र रजनी गुरुङलगायत कलाकारहरूको पनि अभिनय रहनेछ। सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको फिल्मको छायांकन श्याम तामाङले गरिरहेका छन्।

निर्देशक निरौलाका अनुसार फिल्मको शीर्षक ‘पाँच पाण्डव’ भए पनि कथा कुनै धार्मिक वा पौराणिक विषयमा आधारित छैन। महाभारतका पाँच पाण्डव (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव)को प्रतीकात्मक विम्ब प्रयोग गर्दै समकालीन समाजको यथार्थ कथा प्रस्तुत गरिने उनले बताएका छन्।

तपाईको प्रतिक्रिया