भोजपुर — भोजपुर जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ। उक्त विद्यालयका पूर्वविद्यार्थी डा. नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय आपा नरबहादुर तामाङ तथा जीवित सितामाया तामाङको संयुक्त नाममा रु १ लाख १ हजार १ सय ११ बराबरको अक्षयकोष स्थापना गरेका हुन्।
उक्त अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्टलाई प्रोत्साहन गर्ने तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको तीर्थराज योञ्जनले जानकारी दिनुभयो।
कार्यक्रमका अवसरमा विद्यालयका विद्यार्थीहरूलाई बिस्कुट वितरणसमेत गरिएको थियो। दाताहरूले आफूहरूले बाल्यकालमा अध्ययन गरेको विद्यालयप्रति कृतज्ञता प्रकट गर्दै शिक्षाको गुणस्तर सुधारमा सानो भए पनि योगदान पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताएका छन्।
स्थानीय स्तरमा यस्ता पहलहरूले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।









