- महेश भट्टराई

✍️ महेश भट्टराई/काठमाण्डू । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक सुरु भएको हो ।  आजको बैठकमा कसले के भने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा आज दलीय आधारमा बोल्दै सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गर्नुभयो ।
“हामी प्रश्न गरेर यो ठाउँमा आएका हौँ । हामीले बोलेर होइन कामबाट आफूलाई प्रमाणित गर्नुपर्छ । हामी विगतका कमजोरीबाट पाठ सिक्नेछौँ”, सभापति लामिछानेले भन्नुभयो, “यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन । प्रतिपक्षलाई अन्यायपूर्वक प्रतिशोध र अत्याचार हुनेछैन, तर सुशासनको बेग पनि रोकिनेछैन । रास्वपाका हरेकले बोलेर होइन, कामबाट आफूलाई प्रमाणि गर्नुपर्नेछ ।”
आफ्नालाई बचाउन र अरुलाई फसाउन कानुन नै संशोधन हुने क्रम अब नहुने जिकिर गर्दै उहाँले सहिदको आमाको न्याय पाउने पहिलो हक भएकाले त्यसलाई प्रतिशोध भन्न नपाइने बताउनुभयो ।

 

नेपाली कांग्रेसका नेता भिष्मराज आङ्दम्बे

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा उहाँले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताउनुभयो ।

विगत ३५ वर्षमा द्वन्द्व, भूकम्प तथा कोभिड–१९ महामारीजस्ता चुनौतीका बाबजुद देशमा पूर्वाधार, विद्युत्, सञ्चार, स्वास्थ्य र वित्तीय क्षेत्रमा प्रगति भएको उल्लेख गर्दै नेता आङ्देम्बेले ‘केही पनि भएन’ भन्ने निराशावादी धारणा यथार्थमा आधारित नभएको तर्क गर्नुभयो ।

उहाँले विभिन्न लोकतान्त्रिक आन्दोलनदेखि पछिल्लो जेनजी विद्रोहसम्म ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब देशमा पुनः हिंसा दोहोरिन नदिन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताउनुभयो । नेता आङ्देम्बेले २०४६ सालको जनआन्दोलन, सशस्त्र द्वन्द्व, २०६२/६३ को जनआन्दोलन, मधेस आन्दोलनलगायतका सङ्घर्ष स्मरण गर्दै फरक विचार भए पनि सबै एउटै राष्ट्रिय लक्ष्यमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा

नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उहाँले छानविनको माग गर्नुहुँदै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोप समेत लगाउनुभयो ।
एमालेका उपाध्यक्ष थापाले निर्वाचनबाट ठुलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई बधाई दिनुभयो ।  प्रतिनिधिसभाको निर्वाचनले आफूहरुलाई सानो दलका रुपमा स्थान दिए पनि  चुनौतीको सामना गरेर अघि बढ्ने बताउनुभयो ।

 

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै उहाँले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ”, सांसद पुनले भन्नुभयो, “गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशीतालगायत राजनीतिक उपलब्धिलाई अझ उन्नत बनाउँदै लैजानेमा सहकार्य र समन्वय गर्नेछौँ ।”

 

श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न पाउने गरी सहज नियम बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्राकृतिक स्रोतसाधनको सरंक्षण गर्दै मुलुक समृद्धिमा यसको सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

जनचाहनाबमोजिम मुलुकमा सुशासन कायम गरी भ्रष्टचार अन्त्य गर्न सबै लाग्नुपर्ने बताउँदै अध्यक्ष राईले सार्वभौमसत्ता र स्वाभिमानमा प्रतिकुल असर पार्ने कुनै पनि सन्धि सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिमाना रक्षाका लागि नेपाली सेना खटाउनुपर्ने, प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने र त्यसमा आफ्नो पार्टीको साथ रहने उहाँको भनाइ थियो ।

अध्यक्ष राईले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्न सबै राजनीतिककर्मी र सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्न, शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने, एक पालिकामा एक उद्योग, एक घर–एक रोजगारी, बन्द भएका उद्योग सञ्चालन गर्नुपर्ने र नयाँ उद्योग खोल्नुपर्ने माग गर्नुभयो ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकार जनताप्रति उत्तरदायि बनेर मुलुकको समृद्धिमा अगाडि बढ्न सुझाव दिनुभयो । सांसद शाहीले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित शासन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उहाँले जनताको आशा र भरोसाको दियो निभ्न नदिई त्यसलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभयो ।
“नेपालमा धेरै पटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अपेक्षाअनुसार परिवर्तन हुन सकेको छैन”, शाहीले भन्नुभयो,“देशमा भएका सबै भ्रष्टाचारका फाइल खोलिनुपर्ने र पछिल्लो समय दल परिवर्तन मात्र नभई पुस्ता परिवर्तनसमेत भएकाले सोहीअनुसार काम हुनुपर्छ ।”
उहाँले निर्मला पन्त र इनिशा विकजस्ता घटनाका पीडितले समयमै न्याय पाउनुपर्नेमा जोड दिनुभयो । शाहीले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 

स्वतन्त्र सांसद डा. महावीर पुन

संसदमा म पक्ष, विपक्ष भन्दा पनि निष्पक्ष छु । मेरो भूमिका निष्पक्ष हुनेछ ।

तपाईको प्रतिक्रिया