कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ फिल्म ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरिएको छ। गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्मका दुईवटा फर्स्टलुक पोस्टर बिहीबार सार्वजनिक गरिएको हो।
सार्वजनिक पोस्टरहरूले फिल्मको कथावस्तु, ग्रामीण परिवेश र मुख्य पात्रहरूको भावनात्मक अवस्थाबारे संकेत गरेका छन्। पहिलो पोस्टरमा मुकुन भुसाल, रेणु योगी र बालकलाकार निर्भिक रेग्मी देखिन्छन्। मैलो र झुत्रोमुत्रो पहिरनमा रहेका मुकुन र रेणुको अनुहारमा संघर्ष र पीडाको झल्को देखिन्छ भने निर्भिक भने खुसी मुद्रामा प्रस्तुत छन्। यसले ग्रामीण परिवारको कठिन जीवन र आशाको चित्रण गर्ने प्रयास गरेको देखिन्छ।
अर्को पोस्टर भने अझ भावनात्मक छ। यसमा मुकुनको पिठ्युँमा निर्भिक कापी टाउकोमा राखेर सुतेको दृश्य देखाइएको छ। निर्भिकको अनुहारमा देखिएको खुशी र मुकुनको गम्भीर भावले बाबु–छोराबीचको सम्बन्ध र जिम्मेवारीको भावना झल्काउँछ।
दुवै पोस्टरलाई हेर्दा फिल्म एक बालकको शैक्षिक सपना र त्यसलाई पूरा गर्न परिवारले गर्ने संघर्ष वरिपरि घुम्ने संकेत मिल्छ।
जोन योञ्जनको निर्देशनमा बनेको यस फिल्ममा मुकुन, रेणु र निर्भिकसँगै सुशांक मैनाली, सिर्जना अधिकारी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ।
फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माता रहेका छन्। महेश दवाडीको लेखन रहेको फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्।










