हास्य कलाकार सागर लम्साल (बले)लाई फिल्म ‘पाँच पाण्डव’बाट हटाइएको छ। शुक्रबार विष्ट थरकी एक युवतीले लम्सालमाथि बलात्कारको आरोप लगाएपछि निर्माण पक्षले उनलाई फिल्मबाट निष्कासन गर्ने निर्णय गरेको हो। निर्माता कम्पनी कालीरानी फिल्म्सले शुक्रबार विज्ञप्ति जारी गर्दै सागरलाई फिल्मबाट अलग गरिएको जानकारी दिएको छ। साथै उनको स्थानमा नयाँ कलाकार लिएर पहिले खिचिएका दृश्यहरू पुनः छायांकन (रि–सुट) गरिने बताइएको छ।
फिल्मको करिब ९० प्रतिशत दृश्यमा सागरको छायांकन भइसकेको भए पनि अब उनी फिल्मको कुनै पनि हिस्सामा नरहने निर्माण पक्षले स्पष्ट पारेको छ। सागर संलग्न सबै दृश्य हटाएर नयाँ कलाकारसँग पुनः खिचिने जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “छायांकनकै क्रममा मुख्य कलाकार हटाउनु र पुनः दृश्य खिच्नु आर्थिक हिसाबले चुनौतीपूर्ण विषय हो। तर पीडित युवतीको पीडासामु हाम्रो आर्थिक क्षतिले कुनै अर्थ राख्दैन।
‘पाँच पाण्डव’ जस्तो पवित्र नाम र सामाजिक सन्देश बोकेको कथावस्तुमा आधारित फिल्ममा आरोपित कलाकारलाई निरन्तरता दिँदा न्याय प्रक्रियामा असर पर्न सक्ने भएकाले सागरसँग गरिएको सम्झौता रद्द गरिएको निर्माण पक्षले जनाएको छ। साथै घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई छिटो न्याय दिनुपर्ने माग पनि गरिएको छ। निर्देशक वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको यो फिल्मको तीन सातादेखि झापामा छायांकन भइरहेको छ। अब सागरको ठाउँमा नयाँ कलाकार लिएर पुनः छायांकन गर्ने तयारी निर्माण टिमले सुरु गरिसकेको छ। फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी लगायतका कलाकारहरूको अभिनय रहनेछ।










