काठमाडौँ उपत्यकाको गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा विशेष ‘न्यू इयर इभ सेलिब्रेसन’ आयोजना गर्ने भएको छ । संगीत, नृत्य र विविध सांस्कृतिक प्रस्तुतिसहित आयोजना हुने कार्यक्रमलाई भव्य रूपमा मनाउने तयारी गरिएको होटल व्यवस्थापनले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति रहनेछ । कार्यक्रममा रेडियो जकी महिना भट्टराईले सञ्चालन गर्नेछिन् ।
नृत्य प्रस्तुतितर्फ ‘डान्स च्याम्पियन नेपाल सिजन–१’ की विजेता रोसिका राउत तथा नेपहोलिक क्रुका सदस्य विरेन श्रेष्ठ (डान्स प्लस सिजन–३) को विशेष प्रस्तुति रहने जनाइएको छ । साथै लोकप्रिय डीजेहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम र नयाँ वर्ष स्वागत गर्ने आकर्षक काउन्टडाउन कार्यक्रम पनि समावेश हुनेछ ।
कार्यक्रमकै अवसरमा होटलले आफ्ना नयाँ कोठाहरूको लन्च समेत गर्ने तयारी गरेको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा आधुनिक आतिथ्य सेवा प्रदान गर्ने गन्तव्यका रूपमा स्थापित हुँदै गएको जर्मन होम्स् होटलले सेवा विस्तारसँगै पर्यटक तथा ग्राहकलाई फरक अनुभव दिने लक्ष्य राखेको जनाएको छ । कार्यक्रममा सहभागी हुने पाहुनाका लागि असीमित गाला डिनर, विविध परिकारसहितको फुड एन्ड बेभरेज सेवा तथा परिवार, कर्पोरेट समूह र पर्यटकलाई लक्षित विशेष आतिथ्य व्यवस्था गरिनेछ ।
होटल व्यवस्थापनका अनुसार गठ्ठाघर क्षेत्रलाई नयाँ पर्यटन तथा लाइफस्टाइल हबका रूपमा विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो । कोटेश्वरबाट करिब पाँच मिनेटको दूरीमा रहेको होटल सहज पहुँचका कारण पनि आकर्षणको केन्द्र बन्दै गएको छ ।
जर्मन होम्स् होटलमा करिब २५० जना अट्ने रेष्टुरेन्ट, खुला आँगन (कर्टयार्ड), टेरेस, निजी डाइनिङ स्पेस, विभिन्न कार्यक्रमका लागि २००० जना अट्ने बलरुम तथा सेमिनारका लागि ३००० जना अट्ने हलको सुविधा उपलब्ध छ । यसले विवाह, पार्टी, कर्पोरेट मिटिङ र सम्मेलन जस्ता कार्यक्रमका लागि एकीकृत गन्तव्यका रूपमा सेवा दिने लक्ष्य राखेको होटलले जनाएको छ ।










