अभिनेता विराज भट्ट डेढ वर्षपछि नयाँ फिल्ममार्फत् पुनः नेपाली चलचित्र हलमा फर्किएका छन् । उनी अभिनीत फिल्म ‘राम नाम सत्य’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । पछिल्लो पटक विराज आफ्नै निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’ मा देखिएका थिए, जुन २०८१ सालमा रिलिज भएको थियो । त्यसपछि उनले अभिनय गरेको पहिलो फिल्म नै ‘राम नाम सत्य’ हो ।

‘१२ गाउँ’ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो । ‘छक्का पञ्जा ५’ जस्तो चर्चित ब्रान्ड फिल्मसँग प्रतिस्पर्धा गर्दागर्दै पनि उक्त फिल्मले करिब २० करोड रुपैयाँ कमाइ गरेको थियो । एक्सन जनरामा बनेका नेपाली फिल्ममध्ये यो सबैभन्दा धेरै कमाउने फिल्मको रूपमा समेत स्थापित भएको छ । त्यसैले नयाँ फिल्म ‘राम नाम सत्य’बाट पनि विराजले त्यही सफलता दोहोर्‍याउने अपेक्षा गरिएको छ ।

यसपटक भने फिल्मले एकल रिलिजको अवसर पाएको छ । देशभरका हलहरूले फिल्मलाई पर्याप्त शो दिएका छन् । प्रारम्भिक विवरण अनुसार फिल्मले देशव्यापी रूपमा झण्डै १८० शो प्राप्त गरेको छ । तर, रिलिजको पहिलो दिनको टिकट बुकिङ अपेक्षाअनुसार उत्साहजनक देखिएको छैन । बिहानका शोहरूमा दर्शक उपस्थिती न्यून देखिएकाले अब फिल्मको व्यापार धेरै हदसम्म दर्शक प्रतिक्रिया अर्थात् वर्ड अफ माउथ मा निर्भर रहने देखिन्छ ।

फिल्मलाई माइकल चन्दले निर्देशन गरेका हुन् । विराज भट्टसँगै फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुशी कार्की र दिनेश डिसी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माताको रूपमा जोडिएका छन् । अब दर्शकको प्रतिक्रिया कस्तो आउँछ र ‘राम नाम सत्य’ले बक्स अफिसमा कस्तो यात्रा तय गर्छ भन्ने कुरा आगामी दिनले स्पष्ट पार्नेछ।

तपाईको प्रतिक्रिया