आधुनिक कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित सोही नामको फिल्म शुक्रबार (११ वैशाख)बाट देशभर प्रदर्शनमा आउदैछ । प्रदर्शनअघि नै गीत, टिजर र ट्रेलरमार्फत दर्शकको ध्यान तानेको यो फिल्मले हलमा उत्साहजनक सुरुवात गर्ने अपेक्षा गरिएको छ।

फिल्म रिलिज नजिकिँदै जाँदा हलहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छन , जसअनुसार आज बुधबारसम्म देशभर १ सयभन्दा बढी शोज सुरक्षित भइसकेका छन । केही हलहरूमा अझै बुकिङ खुल्न बाँकी रहेकाले कुल शोज संख्या १३० आसपास पुग्ने अनुमान गरिएको छ। यसले फिल्मप्रतिको प्रारम्भिक विश्वास देखाए पनि अबको वास्तविक परीक्षा भने दर्शक उपस्थितिमा हुनेछ।

फिल्मको मुख्य चुनौती भनेको पाएको शोजलाई भरिभराउ बनाउनु हो। त्यसका लागि सकारात्मक ‘वर्ड अफ माउथ’ अत्यन्तै निर्णायक हुने देखिन्छ। दर्शकबाट राम्रो प्रतिक्रिया आएमा फिल्मको व्यापारिक यात्रा मजबुत बन्नेछ, नत्र सुरुवाती उत्साहमै सीमित हुने जोखिम पनि उत्तिकै छ। यसपटक फिल्मलाई सोलो रिलिजको फाइदा मिलेको छ भने शनिबार र आइतबारको विदाले पनि व्यापारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। २ घन्टा १५ मिनेटको रनटाइम रहेको फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने कथा-पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका छन्। त्यस्तै अब हेर्न बाँकी छ , साहित्यबाट प्रेरित यो फिल्मले पर्दामा कत्तिको आगो बाल्न सक्छ।

तपाईको प्रतिक्रिया