‘पूर्णबहादुरको सारङ्गी’पछि निर्माता विनोद पौडेलले तयार पारेको नयाँ फिल्म ‘रोल नं १’को शीर्ष गीत सार्वजनिक भएको छ। गीतले नेपाली शिक्षा प्रणाली र समाजमा व्याप्त ‘र्‍याङ्किङ’ केन्द्रित सोचमाथि तीखो व्यंग्य प्रहार गरेको छ। गीतमा शब्द, संगीत तथा स्वर सर्जक प्रशान्त शिवाकोटीको रहेको छ। ‘न्याउली वनैमा’ र ‘काँधेकुरी’ जस्ता लोकप्रिय गीतका सर्जक शिवाकोटीले यसपटक पनि सन्देशमूलक सिर्जनालाई निरन्तरता दिएका छन्।

सार्वजनिक गीतले सन्तानलाई सामाजिक प्रतिष्ठाका लागि पढाइमा मात्रै केन्द्रित गराउने पारिवारिक दबाब, कक्षामा पहिलो हुनेलाई मात्र सम्मान मिल्ने मानसिकता, र घोकन्ते शिक्षालाई प्राथमिकता दिने प्रवृत्तिलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गर्छ। गीतले ‘किताबी ज्ञान मात्रै पर्याप्त हुँदैन’ भन्ने सन्देश दिन खोजेको देखिन्छ। भिडियोमा एक बालकको कथामार्फत समाजको यथार्थ चित्रण गरिएको छ। बुबाले ‘सारा गाउँलाई देखाइदे’ भन्दै पढाइमा मात्र केन्द्रित हुन दबाब दिएपछि बालक आफ्ना इच्छा र रहर त्याग्दै पुस्तकमा सीमित हुन्छ। यसले आर्थिक रूपमा कमजोर परिवारको संघर्ष र अपेक्षाको बोझलाई पनि झल्काउँछ।

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। कथा/पटकथा महेश दवाडीले तयार पारेका हुन्।

तपाईको प्रतिक्रिया