पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा चरित्र अभिनेताको रूपमा अत्यधिक मागमा रहेका कलाकार सुशील सिटौला पुनः नयाँ फिल्ममा अनुबन्धित भएका छन्। लगातार फिल्ममा जोडिँदै आएका उनी अब निर्माण हुन लागेको फिल्म ‘महाराजधिराज’मा देखिने भएका हुन्।

निर्माता विराज विष्ट सँग बिहीबार लिखित सम्झौता गर्दै सुशील फिल्ममा आबद्ध भएका हुन्। फिल्ममा उनको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ, तर पात्रको विस्तृत विवरण भने हाल गोप्य राखिएको छ। यसअघि उनी ‘पाँच पाण्डव’को छायांकनमा व्यस्त थिए भने शुक्रबार मात्रै अर्को फिल्म ‘अक्षरा’को शुभ मुहूर्त पनि सम्पन्न भएको छ। यसरी हप्तैपिच्छे नयाँ प्रोजेक्टमा अनुबन्धित हुनु उनको बढ्दो मागको स्पष्ट संकेत हो।

परिच्छेद सेन को लेखन तथा निर्देशनमा बन्ने ‘महाराजधिराज’मा सुशीलसँगै पुष्प खड्का, केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, पूजा शर्मा, उषा रजक लगायतका कलाकारहरूको अभिनय रहनेछ। फिल्मको कथा मुख्य रूपमा पुष्प खड्काले निर्वाह गर्ने ‘अधिराज’ पात्रको वरिपरि घुम्ने जनाइएको छ। छायांकन नवराज थापा ले सम्हाल्नेछन् भने निर्माणमा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट को सहभागिता रहनेछ।

फिल्मको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुने तयारी गरिएको छ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरमा समेत दृश्य खिचिने योजना छ। निर्माण टिमले आगामी असारभित्र छायांकन सकी यसै वर्षको दशैं (फूलपाती)मा फिल्म प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

तपाईको प्रतिक्रिया