आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म रोल नं १ को टिजर सार्वजनिक गरिएको छ। बिहीबार युट्युबमार्फत रिलिज गरिएको करिब २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु र परिवेशबारे गहिरो संकेत दिएको छ।
ग्रामीण पृष्ठभूमिमा तयार गरिएको यस फिल्मले बालबालिकामाथि बढ्दो शैक्षिक दबाबको संवेदनशील कथा उठाएको छ। आर्थिक अभावका कारण छात्रवृत्तिमा निर्भर रहनुपर्ने बाध्यता, परिवारको इज्जत जोगाउन पढाइमा सफल हुनुपर्ने दबाब, र त्यसले बालमनमा पार्ने असरलाई टिजरले निकै मार्मिक ढंगले प्रस्तुत गरेको छ। विशेषगरी बाबु–छोराको सम्बन्धलाई केन्द्रमा राख्दै, बाबुको अपेक्षा पूरा गर्न छोराले गर्ने संघर्ष र कमजोर स्मरण शक्तिका कारण उसले भोग्नुपरेको मानसिक तनावलाई टिजरमा प्रभावशाली रूपमा देखाइएको छ।
कीर्तिमानी फिल्म पूर्ण बहादुरको सारङ्गी का निर्माता विनोद पौडेलले निर्माण गरेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मलाई निर्देशक जोन योञ्जनले निर्देशन गरेका हुन्, जसले यसअघि ‘आँखा’ निर्देशन गरिसकेका छन्। विनोद पौडेल र जाह्नवी पौडेल निर्माता रहेको फिल्ममा सह–निर्माताका रूपमा छत्रमाया गिरी र रमेश चौलागाईं छन्।
महेश दवाडीको लेखन, शिवराम श्रेष्ठको छायांकन, मदन घिमिरेको सम्पादन, रोहित शाक्यको पार्श्व संगीत तथा उत्तम प्रधानको साउन्ड डिजाइन रहेको यो फिल्मले अहिलेको शिक्षा प्रणालीले बालबालिकामा पारिरहेको प्रभावलाई मुख्य कथावस्तु बनाएको छ।










