नेपाली फिल्म परालको आगो ले बक्स अफिसमा प्रभावशाली व्यापार गर्दै ३ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्न सफल भएको छ। प्रदर्शनको सुरुआती दिनदेखि नै सकारात्मक ‘वर्ड अफ माउथ’ पाएको फिल्मले लगातार दर्शकको साथ पाइरहेको देखिन्छ। त्यस्तै निर्माण पक्षका अनुसार, हालसम्मको कलेक्सनले फिल्मलाई सुरक्षित अवस्थामा पुर्‍याइसकेको छ। निर्माता पक्षले उत्साह व्यक्त गर्दै अबको कमाइ नाफातर्फ जाने विश्वास व्यक्त गरेका छन्। “नेपालकै व्यापारबाट नाफामा जाने संकेत देखिएको छ,” निर्माताको भनाइ छ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापा जस्ता चर्चित कलाकारहरूको प्रमुख भूमिका रहेको छ। उनीहरूसँगै सिर्जना अधिकारी, शंकर आचार्य, ज्याक श्रेष्ठ, किशोर भण्डारी, सरिता भण्डारी र मन्जिला बानियाँको अभिनयले पनि फिल्मलाई थप मजबुत बनाएको छ।

ग्रामीण परिवेश, सामाजिक यथार्थ र मानवीय संवेदनालाई समेटिएको कथावस्तुले दर्शकसँग राम्रो ‘कनेक्ट’ गरिरहेको छ। समीक्षकहरूले पनि फिल्मको कथावाचन शैली र अभिनय पक्षको प्रशंसा गरेका छन्। अबको दिनमा फिल्मले कति उचाइ छुन सक्छ भन्ने चासो बढिरहेको छ, तर हालसम्मको व्यापारले भने नेपाली फिल्म बजारमा यसको सफल यात्रा संकेत गरिसकेको छ।

तपाईको प्रतिक्रिया