जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कुम्भ’ ले आफ्नो नयाँ रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरेको छ । आर.ए.ए. डिजिटल नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले फिल्मको रोमान्टिक र आकर्षक पक्षलाई दर्शकमाझ प्रस्तुत गरेको छ ।
पप तथा आधुनिक संगीतको स्वाद बोकेको गीतमा मुख्य कलाकार अशोक आर्यान र सृष्टि खड्का बीचको प्रेमिल सम्बन्धलाई कलात्मक ढंगले चित्रण गरिएको छ । विशेषगरी समुद्री किनारामा छायांकन गरिएका दृश्यहरूले भिडियोको सौन्दर्य बढाएका छन् ।भिडियोमा सृष्टि खड्का बोल्ड अवतारमा देखिएकी छन् भने अशोकसँगको उनको केमेष्ट्री आकर्षणको केन्द्र बनेको छ ।
गीतमा मनिष शाहीको स्वर रहेको छ भने संगीत डिजे ए.एन.ले दिएका छन् । गीतका शब्द फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठले लेखेका हुन् । सोनु जीले गीतलाई री-कम्पोज, मिक्सिङ तथा मास्टरिङ गरेका छन् । अडियो रेकर्डिङ मल्टिम्याट स्टुडियोमा गरिएको हो ।
फिल्म ‘कुम्भ’का निर्देशक रणधीर श्रेष्ठले लेखन, निर्देशन, छायांकन र सम्पादनको जिम्मेवारी आफैं सम्हालेका छन् । फिल्ममा अशोक आर्यान र सृष्टि खड्कासँगै स्वर्गीय सुनील थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह बडैला, सुरेन्द्र ठाकुर, अफसाना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ, विजय यादव, महेन्द्र मैनाली, आनन्द चतुर्वेदी, संजय बैठा, भोला शाह, भाले डन र बसन्त भट्टराईको अभिनय रहेको छ ।
रोबर्ट बडैलाको कोरियोग्राफी रहेको गीतमा सम्राट बस्नेत तथा भारतका प्रदिप खड्का, संजय थापा र कुमार महर्जनको संयुक्त द्वन्द्व निर्देशन रहेको छ । फिल्ममा दिनेश विष्ट (कृति एफएक्स) को भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ, शैलेन्द्र बाबु प्रधानको ब्याकग्राउण्ड स्कोर तथा सागर अर्यालको साउन्ड डिजाइन र फिल्म मिक्सिङ रहेको छ ।
रणधीर श्रेष्ठ र राजेश शाहद्वारा निर्मित फिल्मका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् । सुनिल मानन्धर र श्री राम बालाजी फिल्म्सको वितरणमा आउन लागेको ‘कुम्भ’ले एक्सन, रोमान्स र ड्रामाको सशक्त मिश्रण प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ ।










