बहुप्रतीक्षित नेपाली फिल्म ‘बाः एक योद्धा’ले आफ्नो कलाकार टोली विस्तार गर्दै थप चार कलाकारको नाम सार्वजनिक गरेको छ। छायांकन सम्पन्न भई हाल पोस्ट-प्रोडक्सनको चरणमा रहेको फिल्मले यसअघि झरना थापा, सुहाना थापा र दिव्य देवलाई मुख्य कलाकारका रूपमा सार्वजनिक गरेको थियो। तर अन्य कलाकारबारे भने निर्माण पक्षले लामो समयसम्म गोपनीयता कायम राखेको थियो।
बिहीबार निर्माण टिमले सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापालाई फिल्मको कलाकार टोलीमा आबद्ध रहेको जानकारी दिएको हो। सागर खनाल यसअघि ‘११ः५५’मा देखिइसकेका छन् भने शिशिर सिवाकोटीले ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’मा अभिनय गरिसकेका छन्। सुप्रिया शर्मा र शवि थापाका लागि भने ‘बाः एक योद्धा’ पहिलो फिल्म बन्ने भएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म आगामी भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ। फिल्मका निर्माता वसन्त लम्साल हुन्, जसले यसअघि अभिनेता विपिन कार्की अभिनीत ‘कर्मा’ निर्माण गरेका थिए। ‘बाः एक योद्धा’ उनको दोस्रो फिल्म निर्माण हो।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा कथा र पटकथा निर्देशक लम्साल स्वयंले तयार पारेका हुन्। शिवराम श्रेष्ठले छायांकन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। फिल्मले आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि एक बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीहरूको भावनात्मक कथा प्रस्तुत गर्ने बताइएको छ।










