काठमाडौं । भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने उच्च कोटीको सांगीतिक प्रतियोगितात्मक कार्यक्रम सारेगामापामा नेपाली गायीका मेनुका पौडलले अर्को खुड्किलो पार गरेकी छन् ।
उनी मेगा अडिसनबाट छनोट भएर आगामी राउण्डमा प्रवेश गरेकी छन् । आइतबार प्रशारण भएको सो कार्यक्रममा मेनुकाले रंग दे वसन्तीमा लता मंगेसकरले गाएको ‘लुका छुपी बहुत हुई..’ बोलको गीत गाएकी थिइन् । उनलाई सो गीतले अघिल्लो राउण्डमा पुर्याएको छ ।
मेनुकाले लताको गीत गाउँदा जज र जुरी मेम्बर नतमस्तक बनेका थिए । उनको आवाजले त्यहाँ जादू गरिरहेको थियो । जुरी मेम्बरबाट ९५.३ नम्बर प्राप्त गरेपछि उनी आगमी राउण्डका लागि प्रवेश गरिन् ।
कार्यक्रम सञ्चालक नेपाली मुलका आदित्य नारायण झाले मञ्चमा मेनुकासँग नेपालीमा कुरा गरेका थिए । उनले भनेका थिए, ‘तपाईँले गाएको गीतले सबैजनालाई आ आफ्नो ठाउँबाट उठाएको छ , तपाईँले राम्रो गाउनु भो ।’
त्यसपछि आदित्यले मेनुकालाई जुरी मेम्बरले दिएको अंक सुनाएका थिए । मेनुका ब्लाइण्ड भएकाले उनले जुरी मेम्बरले दिएको अंक आफै भने हेर्न सकिनन् । कार्यक्रमको दर्शक दिर्घामा रहेकी मेनुकाकी आमा भने छोरी अघिल्लो राउण्डमा प्रवेश गर्दा हर्षले विभोर देखिन्थिन् ।
मेनुका नेपालमा हाल जारी रहेको नेपाल आईडलमा टप टेन भित्र पर्न नसकेपछि सारेगामापाको अडिसनमा पुगेकी थिइन् । सारेगामापाले पहिलो पटक नेपालमा पनि अडिसन गरेर नेपाली प्रतिभालाई मौका दिएको हो ।