काठमाडौं – चलचित्र नगरीका चर्चित निर्देशकमध्येका एक हुन् निर्देशक निश्चल बस्नेत । उनलाई चलचित्र नगरीका बहुमुखी प्रतिभाका धनीका रुपमा समेत चिन्ने गरिन्छ ।

उनी निर्देशनमा त सफल मानिन्छन् नै सँगै गायन तथा अभिनयमा पनि उत्तिकै चर्चित छन् । उनले अभिनय गरेका अधिकांश चलचित्र सफल छन् । उनले गाएका अधिकांश गीत दर्शकले मन पराएका छन् । उनले निर्देशन गरेका अधिकांश चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् ।

त्यतिमात्र हैन उनी चलचित्र निर्माता, लेखक तथा डान्सरका रुपमा पनि आफूलाई स्थापित गर्न सफल भएका छन् । उनी चलचित्र लूटबाट नेपाली चलचित्र क्षेत्रमा उदाएका थिए । उनले निर्देशन गरेको पहिलो चलचित्रलाई दर्शकले अत्यन्तै मन पराएका थिए । त्यस समयको नेपाली चलचित्र नगरीमा सबैभन्दा धेरै व्यापार गर्न सफल भएको थियो उनीद्वारा निर्देशित चलचित्र लूटले । लूटले दर्शकको मन जिते सँगै उनले सफल निर्देशकको ट्याग पाए । त्यसपछि उनले चलचित्र टलकजंग भर्सेस टुल्के निर्देशन गरे ।

चलचित्र अपेक्षा गरेअनुरुप सफल नभए पनि उनको कामले भने चौतर्फी प्रशंसा बटुलेको थियो । उनले निर्देशन गरेको तेस्रो चलचित्र हो ‘लूट २’ । ‘लूट २’ लाई पनि दर्शकले मन पराएका थिए । उनले निर्माण गरेका चलचित्र अन्तर्गत भने कबड्डी, कबड्डी कबड्डी, २ रुपैयाँ हुन् । उनले अन्य केही चलचित्रहरुमा अभिनय त गरेका छन् नै विभिन्न चलचित्रका आइटम गीतहरु गाउनुको साथै नृत्यसमेत गरेका छन् ।

यतिबेला उनी निर्देशनमा भन्दा पनि अभिनयमा जोड दिइरहेका छन् । यस्को मतलब उनले निर्देशनलाई बिर्सिएका भने हैनन् । ‘मलाई चलचित्र टलक जंग भर्सेस टुल्के र लूट २ ले केही पाठ सिकाएको छ । म चलचित्र निर्देशन गर्छु तर अझै केही समय लाग्छ’, निश्चलले भने ।

अहिले उनले अभिनय गरेको चलचित्र प्रसाद प्रदर्शनको संघारमा छ । ‘चलचित्र प्रसादमा केही फरक भूमिकामा प्रस्तुत भएको छु’, उनले भने । चलचित्र प्रसादमा निश्चल बस्नेतसँगै विपिन कार्की र नम्रता श्रेष्ठ लिड रोलमा छन् । चलचित्र मंसिर २१ गते बाट अल नेपाल प्रदर्शन हुँदैछ ।

तपाईको प्रतिक्रिया