माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीको सोमवार राजधानीमा विशेष शोको आयोजना गरिएको छ । विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाई पालक कृषक ’गोपी’को कथा समेटिएको छ । दृढ इच्छा शक्ति र निरन्तरको प्रयासले देश मै राम्रो उद्धम गर्न सकिन्छ भन्ने संदेश बोकेको फिल्मको विशेष शोमा नेपाली राजनिनैतिक व्यक्तिहरु, सरकारी उच्च ओहोदामा रहेका व्यक्तिहरु, व्यापारीहरुसंगै विभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो ।

फिल्म हेरेका अधिकांशले फिल्म राम्रो बनेको र फिल्म हेर्दै गर्दा आफु पनि फिल्मको पात्र ’गोपी’ भएको महसुश गरेको प्रतिकृया दिएका थिए । फिल्म हेरे पछि पत्रकारहरुसंग कुराकानी गर्दै छक्का पञ्जा टिमले फिल्म लोकल नेपाली कथामा बनेको र यो फिल्म हेर्न नेपाली मन लिएर आउनु पर्ने बताएका थिए । फिल्म हेरिसकेपछि आफ्नो प्रतिकृया दिँदै निर्माता तथा कलाकार दीपकराज गिरीले भने, ’ किसानहरुले गौरव गर्न लायक फिल्म बनेको छ । हामी सबैको जिउमा त्यही फिल्ममा देखाईए जस्तै गोबर गानाउँछ । हामी पनि त्यही पृष्टभुमीबाट आएका थियौँ । होला फरक कर्ममा छौँ, तर हामी सबै गोपी हौँ’ ।

कलाकार जितु नेपालले नेपाल सरकार कृषी मन्त्रालयले निर्माण गर्नु पर्ने खालको फिल्म निजी क्षेत्रबाट निर्माण भएको र यसलाई कृषी मन्त्रालयले अन्तर्गत विशेष फिल्म घोषणा गर्नु पर्ने बताए । संगीतकार अर्जुन पोखरेलले फिल्म हेरिसकेपछि आफ्नो प्रतिकृया दिँदै भने फिल्मले बोकेको स्वरोजगार र नेपाल मै केही गर्न सकिन्छ भन्ने संदेशले आफ्नो मन छोएको बताए । संगीत कर्ममा लागेको आफुले संगीत पालन गरेको र आफु संगीतको गोपी रहेको उनले बताए ।

फिल्मका बारेमा बोल्दै नेता योगेश भट्टराईले नेपाली मौलिक कथा बोकेको फिल्म हेर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । उनले भने, ’राजनीती गर्ने व्यक्तिहरुलाई समेत फिल्मले प्रेरित गर्छ । जुन साहस बोकेर यो फिल्म निर्माण भएको छ त्यसको कदर गर्नुपर्छ’ । नेपाल कृषी प्रधान देश भएकाले पनि नेपालमा यस किसिमको फिल्म निर्माण हुनु गौरवको कुरा रहेको बताएका थिए । सरकारी तवरबाट फिल्मको लागि केही गर्न सकिने धारणा उनको थियो ।

त्यस्तै फिल्मको ’गोपी’ जस्तै आफु पनि गाई पालन गर्दै आएको अनुभव साट्दै पुर्व संचार मन्त्री मोहन बस्नेतले पछिल्लो समय वैदेशिक रोजगारीका लागी नेपालीहरु पलायन भइरहेको अवस्थामा नेपाल मै केही गर्न सकिन्छ भन्ने संदेश फिल्मले बोकेको र त्यो जमातलाई यो फिल्म देखाउन सकिए फिल्मको उदेश्य पुरा हुने विश्वास ब्यक्त गरेका थिए । असफलता नै सफलताको कडी हो भन्ने संदेश फिल्ममा रहेको उनको भनाई थियो । नेत्री नविना लामाले सम्भावनाको खोजी गर्न सके नेपाल मै बसेर आर्थिक रुपमा सवल बन्न सकिने संदेश फिल्मले बोकेको बताईन् । आर्थिक रुपमा सवल बन्नका लागी विदेश नै धाउनु पर्छ भन्ने सोच बोकेका युवाहरुका लागि गोपी एउटा राम्रो संदेश बन्न सक्ने विश्वास उनको थियो ।

तपाईको प्रतिक्रिया