काठमाडौँ – बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। शनिबार काठमाडौंको होटल र्याडिशनमा आयोजना भएको कार्यक्रममा महानायक राजेश हमाल, पत्रकार ऋषी धमला, रेस्लर हिमालयन टाइगर लगायत ११ व्यक्तिलाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको थियो।
फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेसले उक्त अवार्ड प्रदान गरेकी हुन् । शान्ति तथा मानवताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हमाल, धमला, हिमालयन टाइगर लगायतलाइ उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै बज्रकिल्या प्रोडक्शनको सीइओ जाम्पा फुर्वा दोर्जे लामाले हिमालय क्षेत्रको भाषा, संस्कृति संरक्षण गर्न र नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा अघि बढाउन ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कोशे ढुंगा सावित हुने बताउनुभयो। साथै नेपाली समाजमा यथावत रहेको आर्थिक, सामाजिक असमानता हटाउनुपर्नेमा जोड दिंदै उहाँले प्रत्यक बर्ष नेपालका ५ जना बालबालिकालाई छात्रवृत्ति दिने घोषणा समेत गर्नुभयो।
कार्यक्रममा फिलिपिन्सकी राजकुमारी टोरेसले शान्ति र मानवता सबैले आत्मसात गर्न सके मात्र यसले दिगो रुप लिने बताउँदै शान्ति र मानवताको क्षेत्रमा योगदान दिन महात्मा गान्धी र मदर टेरेसाको जस्तै कार्य गर्नुपर्ने भ्रम चिर्नुपर्ने बताउनुभयो। महानायक राजेश हमाल नेपालमा यस्तो सम्मेलन आयोजना हुनु गर्वको बिषय रहेको बताउदै जुनसुकै क्षेत्रमा आबद्ध भएका व्यक्तिले मानवतामा जोड दिएर अघि बढ्नुपर्ने औंल्याउदै शान्ति र मानवताले नै मानिसलाई लामो समयसम्म अस्तित्वमा राख्ने बताउनुभयो।