काठमाडौं। बलिउडका केही यस्ता कलाकारहरु छन् जसले नेपाली फिल्महरुमा पनि काम गरेका छन् । उनीहरुले नेपाली फिल्मलाई माया गर्ने पनि बताउँदै आइरहेका छन् । बलिउडमा राम्रै नाम कमाएका केही यस्ता कलाकारहरु छन् जसले नेपाली मुलधारको फिल्ममा मुख्य भुमिकामा समेत काम गरेका छन् । कतिले उनीहरुको अभिनयको तारिफ गरेका छन् भने कतिले काम गरेको नगरेको पत्तै पाएनन् ।

माला सिन्हाः बलिउडमा राम्रो छवी बनाएकी अभिनेत्री मालाले नेपाली फिल्म माइतीघरमा काम गरेकी थिईन् । माइतीघरकै नायक सिपी लोहनीसँग विवाह गरेपछि मालाले बलिउड छाडेकी थिईन् । मालाका बुवा नेपाली भएका कारण पनि उनले नेपाली फिल्ममा काम गरेको बताईन्छ ।

हुर्मीत ममिकः सन् १९९२ मा जो जिता उही सिकन्दर फिल्ममा आमिर खानसँग काम गरेका उनले बलिउडका केही फिल्ममा मात्र सफलता पाउन सफल भए । उनले नेपाली फिल्म हाम्रो सानो घर होला फिल्ममा काम गरे जुन फिल्म सुपरहिट भएको थियो ।

दीपराज राणाः बलिउड सलमान खानसँग काम गरिसकेका कलाकार हुन् दीपराज राणा । उनले फिल्म प्रेम रतन धन पायोमा सलमान खानसँग काम गरेका थिए । उनी बलिउड स्टार अभिनेतासँग पनि काम गरेका छन् । उनले नेपाली फिल्ममा पनि काम गरेका छन् । उनले नेपाली फिल्म कोहीनुरमा श्रीृकष्ण श्रेष्ठसँग काम गरेका थिए ।

राजपाल यादवः बलिउडमा पछिल्लो समय गुमनाम भएका कलाकार हुन् राजपाल यादव । उनी तीन महिनाका लागि जेल परेका थिए । लेनदेनको विषयमा उनी जेल परेका थिए । तर, उनी पुनः बलिउड फर्किएका छन् । उनले पनि नेपाली फिल्ममा काम गरेका छन् । उनी करोडपति नामक नेपाली फिल्ममा आवद्ध भएका थिए ।

स्वेता तिवारीः भारतीय टेलिसिरियलमा सर्वाधिक चर्चामा रहेकी अभिनेत्री हुन् स्वेता तिवारी । कसौटी जिन्दगी की नामक टेलिसिरियलबाट उनी एकाएक चर्चामा आएकी थिइन् । उनले नेपाली फिल्म त्रिनेत्रमा मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया