यतिबेला भारतीय च्यानलमा नेपालका २ बालकहरुले नेपाल र नेपालीको नाम चम्काईरहेका छन् सिन्धुपाल्चोकका आयुष केसी र इटहरीका प्रितम आचार्य । यतिबेला यी दुईले भारतको चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा आफनो गायिकीबाट नेपालीको मात्र नभई भारतीयहरुको समेत मन जितिरहेका छन् । हिजो प्रसारण भएको कार्यक्रममा आयुषसंगै प्रितमले पनि आफनो प्रस्तुती दिएका छन् । उनले चर्चित गायक किशोर कुमार स्पेशल कार्यक्रममा चर्चित गीत “निले निले अम्बर पर” बोलको गीत गाएका थिए । उनले उत्कृष्ट प्रर्दशन गरे । जुरीबाट उनले ९०.७ प्रतिशत नम्बर ल्याए । यो उनले हालसम्म दिएको प्रस्तुतीहरुमा सबैभन्दा कम नम्बर हो ।

अधिकांश प्रस्तुतीमा सय प्रतिशत नम्बर ल्याउदै चार्ट बस्टर पफर्मेन्स दिँदै आएका प्रितमले नेपालीहरुको मात्र होईन आफनो गायनबाट जज सान , ऋचा शर्मा , अरमान मलिकलगायत भारतीयहरुको नै मन जितेका छन् । तर उनलाई गीतको शब्दसंग एक्सप्रेसनमा खेल्न नसकेको भन्दै सुधारका लागि आग्रह गरिएको छ । तथापी उनको प्रस्तुतीमा नझुम्ने कोही हुँदैनन् । प्रितमको गायनमा अतिथीको रुपमा उपस्थित भएका किशोर कुमारका छोरा अमित कुमारले प्रशंसा गरे । उनले यतिको सानो उमेरमा यस्तो गीत गाउनु प्रशंसनिय रहेको बताए । त्यसो त प्रितमको प्रशंसा बलिउडका चर्चित नायक तथा गायकहरुले समेत सामाजिक सञ्जालमा गरिसकेका छन् । उनले नेपालको प्रतिनिधित्व गर्दे भारतीय च्यानलमा उत्कृष्ट प्रर्दशन गर्दा सबै नेपालीहरुको मन जितिरहेका छन् ।

तपाईको प्रतिक्रिया