काठमाडाैं – नेपाली फिल्म क्षेत्रमा ०७५ सालमा झन्डै साढे दुई दर्जन नवयुवतीले आफूलाई हिरोइनका रूपमा प्रस्तुत गरेका छन् । केहीले अभिनयलाई करिअरकै रूपमा लिन चाहेको देखिन्छ भने कतिपयका लागि ‘हिरोइन बन्ने रहर’ पूरा गरेको भन्न अप्ठ्यारो मान्नु पर्दैन । ०७५ सालमा प्रदर्शन भएको (वैशाख ७) पहिलो फिल्म स्वर्ग मेरो गाउँमा साक्षी लम्साल, सुजाता थापा र भावना गुरुङ, तीन अभिनेत्री प्रमुख भूमिकामा छन् । उनीहरूलाई त्यसपछि अर्काे फिल्ममा दर्शकले हेर्न पाएका छैनन् । यो वर्षको अन्त्य अर्थात् २९ चैतमा प्रदर्शन हुने दुई फिल्म ए मेरो हजुर–३ र यात्राबाट क्रमशः सुहाना थापा र मलिका महतले डेब्यु गर्दै छन् । यसबीचका हिरोइनमध्ये केही मात्र फिल्म अभिनयमै देखिएका छन् । तर, अधिकांश भने पुनः पर्दामा आउने तयारीमा रहेको पाइँदैन । अभिनय, प्रस्तुति, चर्चा र निरन्तरताका आधारमा यो वर्ष डेब्यु गरेका आसलाग्दा केही हिरोइन निम्न छन् :

आश्मा गिरी – ऋषिराज आचार्य निर्देशित ड्रिम गर्ल फिल्मबाट डेब्यु गरेकी आश्मालाई सम्भावना बोकेकी हिरोइनका रूपमा लिइन्छ । पहिलो फिल्ममै ड्रिम गर्लजस्तो शीर्ष भूमिका निर्वाह गरेकी आश्मा अभिनयमै निरन्तर रहन चाहन्छिन् । भन्छिन्, ‘मैले अभिनयलाई करिअरका रूपमा लिएकी छु । ड्रिम गर्लपछि मलाई केही फिल्मबाट अफर आए, आइरहेका छन् । तर, मैले पढाइका कारण पूरा समय दिन सकिरहेकी छैन ।’ पढाइका साथै फिटनेसमा ध्यान दिइरहेकी आश्मा आफूलाई केही समयपछि दर्शकले पुनः पर्दामा देख्न पाउने बताउछिन् ।

सुपुष्पा भट्ट – गोविन्दसिंह भण्डारी निर्देशित रणवीर फिल्मबाट डेब्यु गरेकी सुपुष्पा भट्ट पनि आसलाग्दी अभिनेत्री हुन् । रणवीरले व्यावसायिक सफलता प्राप्त नगरे पनि उनको अभिनयले भने तारिफ पायोे । रणवीरपछि उनले स्प्राइटको विज्ञापनमा अभिनय गरिन् । आफूले अभिनयलाई करिअरका रूपमा लिएको बताउने सुपुष्पालाई केही फिल्मबाट अफर आइरहेको छ । भन्छिन्, ‘मलाई फिल्मको अफर आइरहेको छ । तर, अहिले मेरो परीक्षा भएकाले कुनै पनि ओके गरेकी छैन । परीक्षा सकिएपछि निरन्तर लाग्छु ।’ पहिलो फिल्मबाट आफ्नो कामले चर्चा पाएकोमा यो क्षेत्रमा लाग्न थप ऊर्जा मिलेको उनी बताउँछिन् ।

मालिका महत – यात्राको ट्रेलर सार्वजनिक भएसँगै मलिकाको चर्चा चल्न थालेको छ । नवनिर्देशक सम्राट शाक्यको निर्देशनमा केशव भट्टराईले निर्माण गरेको यात्रा २९ चैतमा प्रदर्शन हुँदै छ । सो फिल्ममा मालिका दृष्टिविहीन टुङ्नावादक युवतीको भूमिकामा छिन् । डेब्यु फिल्ममै जोखिम मोलेर दृष्टिविहीनको भूमिका निर्वाह गरेकी मालिका अभिनयलाई नै करिअर बनाउने बताउँछिन् ।

निरीषा बस्नेत – पुराना अभिनेता, निर्माता तथा निर्देशक विश्व बस्नेतकी छोरी निरीषा बस्नेत पनि आसलाग्दी हिरोइनमा पर्छिन् । वसन्त अधिकारी निर्देशित जानी नजानी फिल्मबाट डेब्यु गरेकी निरीषाले भारतीय टेलिशृंखला चन्द्र नन्दिनीमा समेत अभिनय गरिसकेकी छिन् । अभिनयमै करिअर बनाउने चाहना व्यक्त गर्ने उनी हाल मुम्बईमा संघर्षरत छिन् । डेब्यु फिल्म सफल नभए पनि उनी आफूलाई दमदार भूमिकाका लागि अफर आएमा काठमाडौं ओर्लन समय नलगाउने बताउँछिन् । भन्छिन्, ‘म अभिनयमै करिअर बनाउन चाहन्छु । चाहे त्यो नेपाली होस् या हिन्दी तथा हलिउड फिल्म, म मिहिनेत गर्न छोड्दिनँ।’

शिल्पा मास्के – हलिउड फिल्म डक्टर स्ट्रन्जमा सानो भूमिकामा देखिएकी शिल्पा मास्केको डेब्यु नेपाली फिल्म द ब्रेकअप हो । सो फिल्म गत फागुन १७ मा प्रदर्शन भएको थियो । केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी शिल्पाको दोस्रो फिल्म कागजपत्र चैत ८ मा दर्शकमाझ आएको थियो । हाल उनी सानो मन नामक फिल्मको सुटिङमा व्यस्त छिन् । प्रदर्शित दुवै फिल्म असफल भए पनि उनलाई आसलाग्दी अभिनेत्रीका रूपमा हेरिन्छ । उनको हातमा फिल्म पर्ने क्रम जारी छ । नया पत्रिकामा खबर छ ।

उपासना सिंह ठकुरी – अभिनेता भुवन केसी निर्मित क्याप्टेन फिल्मबाट डेब्यु गरेकी उपासना सिंह ठकुरीलाई सम्भावना बोकेकी हिरोइनका रूपमा हेरिएको छ । क्याप्टेनले ठिकठाकै व्यापार गरे पनि उपासनाको डिमान्ड भने हुने गरेको छ । उनलाई कबड्डीको तेस्रो सिक्वेलका लागि अफर गइरहेको छ । स्नातक अध्ययनरत उपासना पढाइमा असर नपर्ने गरी फिल्म अभिनय गर्ने चाहना व्यक्त गर्छिन् ।

सुहाना थापा – अभिनेत्री झरना थापाकी एकल सुपुत्री सुहाना थापा होम प्रोडक्सनको ए मेरो हजुर–३ बाट रजतपटमा डेब्यु गर्दै छिन् । आफ्नी आमाबाट प्रभावित रहेको बताउने सुहाना फिल्ममै करिअर बनाउन चाहन्छिन् । भन्छिन्, ‘पहिलो फिल्मको रिजल्टप्रति म निकै एक्साइटेड छु ।’ चैत २९ मा लाग्ने उनको फिल्ममा उनको जोडी अनमोल केसी छन् । फिल्म प्रदर्शनपूर्व नै सुहानाको चर्चा चुलिँदै गएको छ ।

तपाईको प्रतिक्रिया