जेन्सी । फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले आफ्नी पत्नीका लागि एउटा अनौठो उपकरण निर्माण गरेका छन् । पत्नी प्रिस्किला छानलाई राति सुत्नमा कठिनाइ हुन थालेपछि जुकरबर्गले ‘स्लिप बक्स’ आविस्कार गरेका हुन् जसबारे अहिले सामाजिक संजालमा व्यापक चर्चा भइरहेको छ ।

आइतबार मात्र जुकरबर्ग आफैँले यस नयाँ आविस्कारबारे इन्स्टाग्राममा बताएका हुन् । दुई छोरीहरु म्याक्सिमा र अगस्टको जन्म भएदेखि प्रिस्किलालाई रातभर निद्रा लाग्न छाडेको जुकरबर्गले बताए ।

उनले लेखेका छन्, “प्रत्येक रात प्रिस्किला एकपटक ब्युँझिएपछि बच्चाहरु उठ्ने समय भयो भएन भनेर आफ्नो मोबाइलमा समय हेर्ने गर्छिन् र त्यस पश्चात् निदाउन सक्दिनन् । समय थाहा पाएपछि उनले अब केही छिनमै उठ्नु पर्छ भन्ने सोचिरहने गरेकाले उनलाई त्यसपछि निदाउन कठिन हुने गरेको छ ।”

यस्तोमा ३४ वर्षीय जुकरबर्गले सो समस्याको समाधान गर्न आफैँले अनौठो उपाय निकालेका हुन् । उनले आफ्नो नयाँ आविस्कारबारे विस्तृतमा व्याख्या गर्दै उक्त ‘स्लिप बक्स’ को तस्बिर समेत पोस्ट गरेका छन् । उनका अनुसार उनले सो काठको बाकस आफ्नी पत्नी सुत्ने ठाउँ नजिकै राखिदिने गरेका छन् जसले बिहान ६ देखि ७ बजेको समयमा मधुरो प्रकाश बाहिर फाल्दछ । सो प्रकाश प्रिस्किलाले सहजै देख्न सक्ने र त्यही बक्समा हेरेर उज्यालो भए नभएको थाहा पाउने गरेको उनले बताए । यसरी सो प्रकाशले उनलाई निद्राबाट नजगाउने र समय पनि हेर्नु नपर्ने हुँदा उनी आनन्दले सुत्न सक्ने जुकबर्गले बताएका हुन् । उनले लेखेका छन्, “अब प्रिस्किला मध्य रातमा ब्युँझिन् भनेपनि त्यस बक्सलाई हेर्दा त्यहाँबाट कुनै प्रकाश नआएको देख्नेछिन् र उनलाई आफू अझै सुत्न मिल्ने थाहा हुन्छ त्यसैले समयबारे चिन्ता नगरि निदाउन सकिनेछ ।”

यसरी उनको व्यवहारिक सिर्जनाले हालसम्म सफलतापूर्वक काम गरिरहेको जुकरबर्गले आफ्नो इन्स्टाग्राम पोस्टमा उल्लेख गरेका हुन् ।

उनले थप लेखेका छन्, “मेरो विचारमा एउटा इन्जिनियर भएको नाताले मैले आफ्नी जीवनसाथीलाई राम्रो निद्रा पुर्याउन त्यस किसिमले मद्दत गर्नु ,उनीप्रति माया र सद्भाव व्यक्त गर्ने सबैभन्दा राम्रो तरिका हो ।”

जुकरबर्गका अनुसार केही साथीहरुले उनको सो आविस्कारबारे चासो देखाएकाले नै उनले यसलाई सामाजिक संजालमा पोस्ट गर्ने निर्णय गरेका हुन् । अरु कुनै उद्यमीहरुलाई पनि अझ धेरै मानिसहरुलाई सुत्न सहज गराउन ‘स्लिप बक्स’ निर्माण गर्ने चाहाना उत्पन्न हुन सक्ने उनी बताउँछन् । यसरी अहिले थुप्रै सेलिब्रेटी र उद्यमीहरुले उनको सो आविस्कारको प्रशंसा गर्दैै विभिन्न प्रतिक्रिया जनाइरहेका छन् भने सो पोस्टले एकै दिनमा चार लाख ५० हजार लाइक प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया