काठमाडौं । फिल्म निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवादमा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौको आदेश सदर गर्ने निर्णय गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालतको आदेश बदर गर्न अस्वीकार गरेको हो । विवाह बदर माग गर्दै निर्माता ओझा २०७६ भदौ ३ गते बारेस कृष्णबहादुर कार्कीमार्फत् उच्च अदालत पुगेका थिए । उक्त मुद्दामा अन्तिम आदेश गर्दै उच्च अदालत पाटनले जिल्लाकै निर्णय सदर गरेको हो ।
जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार रहँदै आएका थिए । तर शिल्पाले सर्वाेच्चमा मुद्दा दायर गरेर जिल्ला अदालतको आदेश बमोजिम पक्राउ पर्नबाट बचेकी थिइन् । सुरुमा छवि ओझा जिल्ला अदालतमा विवाह बदरको माग गर्दै पुगेका थिए । जिल्ला अदालतले उक्त निवेदन दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो । उक्त दरपिठविरुद्ध उनले इजलासमा निवेदन दिएका थिए । जिल्ला अदालतले इजलासको निवेदनमा पनि सुनुवाई गर्दै दरपिठलाई सदर गरेको थियो ।
त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । पाटनले जिल्ला अदालतको दरपिठलाई कानुन सम्मत ठहर गरेको हो । विवाह गरेको १५ वर्षपछि निर्माता ओझाकी पहिलो श्रीमती भएको दाबी गर्दै हेमा ओझाले जिल्ला अदालत काठमाडौमा बहुविवाद मुद्दा दायर गरेकी थिइन् । सर्वोच्च अदालतले भदौ १ गते नायिका शिल्पा पोखरेललाई पक्राउ नर्गन आदेश जारी गरेको थियो । नायिका पोखरेलले आफूमाथि महिला हिंसा भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएपछि यी दुईबीचको विवाद सार्वजनिक भएको थियो ।
लगत्तै शिल्पाले छविविरुद्ध सम्बन्धविच्छेद गर्ने तयारी गरेकी थिइन् । लगत्तै हेमा १५ वर्षपछि श्रीमतीको दाबी लिएर अदालत पुगेकी थिइन् । यसपछि छवि र शिल्पाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाहको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा अदालतले दुबैका नाममा साउन ८ गते पक्राउ पुर्जी जारी गरेको थियो । शिल्पा निर्माता ओझाकी चौथो श्रीमती हुन् । उनीहरुले दुई वर्षअघि नै सुटुक्क बिहे गरेका थिए । बिहेको साक्षी विकास रौनियार र सम्झना उप्रेती रौनियार पनि थिए । तर दुवैले एक महिनाअघि मात्र बिहे स्वीकार गरेका थिए ।
यसअघि छविले नायिका रेखा थापासँग विवाह गरेका थिए । उनीहरुको सम्वन्ध लामो समय टिक्न नसकेपछि अलग्गिएका थिए । लगत्तै उनले शिल्पासँग सम्बन्ध बनाएका थिए । शिल्पा र छवि दुबैले बिहे भएको स्वीकार्न तयार थिइनन् । तर बिहे स्वीकार गरेको दुई महिना नकाट्दै फेरि झगडाको खबर बाहिरिएको थियो । छविले कानको जाली फुट्ने गरी कुटपिट गरेपछि शिल्पा शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेपछि यो रहस्य बाहिरिएको थियो ।