काठमाडौं। चीनकी चर्चित अभिनेत्री फ्यान बिंगबिंग लामो समयसम्म बेपत्ता भइन् । कर छलीको आरोप लागेपछि अनुसन्धानबाट आफू जेल जानुपर्ने डरले उनी बेपत्ता भएकी हुन् । तर, आज नाटकीय रुपमा उनी सामाजिक संजालमा देखिइन् जहाँ उनले एक पोस्टमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रशंशा गरिन् र कर छली गरेकोमा माफी पनि मागिन् ।
‘हालै मैले अभूतपूर्व दर्द र पीडाको अनुभव गरेकी छु र मैले गहन चिन्तन र विचार गरेकी छु’ उनले चिनियाँ सामाजिक संजाल विबोमा लेखेकी छिन् ‘मैले जे गरे त्यसमा मलाई लज्जाबोध भएको छ । म दोषी हुँ र म तपाइँ सबैसँग माफी माग्छु ।’ पछिल्लो पटक जुलाइमा सार्वजनिक रुपमा देखिएपछि यो फ्यानको पहिलो सार्वजनिक भनाइ हो ।
चिनियाँ अधिकारीले त्यतिबेला उनले १३० मिलियन डलर कर तिर्नुपर्ने बताएपछि उनी बेपत्तँ भएकी थिइन् । यो रकम उनले पर्षौंसम्म आफ्नो आम्दानी लुकाएर छलेको कर र कर छलीवापतको जरिवाना हो । चर्चित हलिउड फिल्म एक्स मेन डेज अफ फ्युचर पास्ट, आइरन म्यान ३ लगायतमा काम गरेकी अभिनेत्रीले बुधबार चिनिया अधिकारीले गरेको निर्णय आफूले स्वीकार्ने बताएकी छिन् ।